काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित कार्की आयोगले बुझाइसकेको प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
उहाँले प्रतिवेदन सार्वजनिक नहुनुले विभिन्न आशंका र उपशंका जन्माएको उल्लेख गर्दै, “आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, किन सार्वजनिक गरिँदैन ?” भन्ने यक्ष प्रश्न खडा भएको धारणा राख्नुभएकाे छ ।
अन्तरिम सरकारको कार्यकाल सकिन लागेको अवस्थामा समेत प्रतिवेदन सार्वजनिक नगर्नु कर्तव्यबाट विमुख हुनुजस्तै देखिएको उहाँकाे धारणा छ। आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै भएको उहाँको भनाइ छ।
उहाँले यसअघिका आयोगका प्रतिवेदनहरूझैँ यसलाई पनि गुपचुप राखिनु विडम्बनापूर्ण भएको उल्लेख गर्नुभएकाे छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठकमार्फत समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको उहाँले जानकारी दिनुभएकाे छ ।
महामन्त्री पौडेलले अब विदा हुने तयारीमा रहेको अन्तरिम सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न गाैरीबहादुर कार्कीकाे संयाेजकत्वमा जाँचबुझ आयाेग बनेकाे थियाे । आयाेगले सरकारलाई प्रतिवेदन बुझाइसकेकाे छ ।













प्रतिक्रिया दिनुहोस्