जनता टाइम्स

९ चैत्र २०८२, सोमबार ११:५६

सुनको मूल्य लगातार ओरालो लाग्दै, एक सातामा तोलामा ३४ हजार रुपैयाँ गिरावट


काठमाडौं, चैत ९ । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन आइतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि आइतबार पनि सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको थियो। यससँगै एक साताको अवधिमा सुनको मूल्य कुल ३४ हजार रुपैयाँले घटेको छ। गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच, गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। विशेषगरी पश्चिम एसियामा बढेको द्वन्द्वका कारण तेलको मूल्य वृद्धि हुँदा अमेरिकी डलरको माग बढेको र त्यसले सुन बिक्री बढाउँदै मूल्यमा गिरावट ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

तेलको मूल्य वृद्धिसँगै विश्वव्यापी रूपमा ब्याजदर बढ्ने दबाब सिर्जना भएको छ, जसले सुनचाँदीजस्ता बहुमूल्य धातुको मूल्यलाई थप असर पारिरहेको छ।

यता चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

एक सातामा चाँदीको मूल्य प्रतितोला ८४० रुपैयाँले घटेको छ। गत सोमबार चाँदी ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।