जनता टाइम्स

९ चैत्र २०८२, सोमबार १२:१३

रवि लामिछाने विरुद्ध अभियोग संशोधन निर्णयमा परेको रिटमाथि विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुँदै


काठमाडौं, चैत ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।

उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा हुने भएको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गर्नुभएको थियो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गर्नुभएको थियाे।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाउन आदेश दिनुभएको थियो। आज साे मुद्दा  शर्मा र मुसलमानको इजलासमा परेकाे हाे ।