रामेछाप, चैत ९ । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । जसले गर्दा स्थानीय गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा लिन समस्या भएकाे छ ।
संघीय सरकारको करिब दुई करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन प्रयोगमा आउन नपाउँदै पहिरोले तानेर र पुरिएर क्षतिग्रस्त भएको हो। स्वास्थ्य चौकी नजिकैको चौर खारेर बनाइएको भवनको मुनी खनिएको सडक र माथिबाट झरेको पहिरोले दुवैतर्फबाट असर पुर्याउँदा संरचना धरापमा परेको छ ।
दुई तले भवनको जग नै कमजोर बनेपछि अहिले भवन चिरा–चिरा परेको छ भने माथिबाट झरेको पहिरोले थप क्षति पुर्याएको छ। भवनसँगै रहेको शौचालयसमेत भत्किने अवस्थामा पुगेको छ । जसको जग नै बगिसकेको छ।
स्थानीयवासीका अनुसार सो भवन सञ्चालनमा आएको भए गर्भवती महिलाहरूलाई गाउँमै सुरक्षित प्रसूति सेवा लिन अत्याधुनिक संरचना बनेकाे थियाे । तर भवन भत्किएपछि अहिले साँघुरो ठाउँमा सेवा सञ्चालन हुँदै आएकाे छ ।
वडाध्यक्ष ध्रुव चौलागाईँका अनुसार गत वर्ष र यस वर्ष परेको अविरल वर्षाका कारण भवन निर्माण गरिएको स्थान नै बगेको हो। उहाँले नयाँ बनेको भवन प्रयोग गर्न नपाउँदै क्षति पुगेपछि अहिले साँघुरो कोठामा प्रसूति सेवा सञ्चालन गर्नुपरेको छ । “यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई तत्काल नयाँ भवन आवश्यक छ,” उहाँले भन्नुभयो।
स्थानीय गर्भवती महिलाहरू सुरक्षित प्रसूति सेवाको प्रतीक्षामा रहेको अवस्थामा निर्माण सम्पन्न भएर पनि प्रयोगमा नआएको यस्तो संरचना भत्किनु दुःखद मात्र नभई राज्यको लगानीमाथि समेत गम्भीर प्रश्न उठाएको छ।













प्रतिक्रिया दिनुहोस्