जनता टाइम्स

१० चैत्र २०८२, मंगलवार १४:४०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४–२६ मा गर्ने प्रस्ताव


काठमाडौं, चैत १० । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरिएकाे छ । पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको हाे।

आजकाे पार्टी केन्द्रीय समिति बैठकमा उहाँले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको हो । उक्त प्रस्तावमाथि बैठकमा छलफल जारी रहेको र छलफलपछि औपचारिक निर्णय लिइने जनाइएको छ ।

विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वले अब पार्टीको नियमित महाधिवेशन तर्फ लागेको हो । यससँगै कांग्रेसभित्र संगठनात्मक पुनर्संरचना र नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा एकताबद्ध हुन पनि आग्रह गर्नुभयाे ।

थापाले आफूले सभापतिको जिम्मेवारी सम्हालेपछि पार्टीलाई अगाडि बढाइसकेको उल्लेख गर्दै अब त्यो प्रक्रिया रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो । ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिवेशनमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘म यो कमिटीमा नभएका बाहिरका साथीहरूलाई पनि अपिल गर्छु-विशिष्ट परिस्थितिमा विशेष महाधिवेशन भयो, नयाँ नेतृत्व आयो, हामी निर्वाचनमा सहभागी भयौँ, अब नियमित महाधिवेशनतर्फ जाँदैछौँ, अब को सहभागी भयो, को भएन भन्ने बहस समाप्त भइसकेको छ ।’

उहाँले सभापतिको हैसियतमा पार्टीको ‘गाडी’ अगाडि बढाइसकेको उल्लेख गर्दै अब त्यो प्रक्रिया रोकिन नसक्ने बताउनुभयो । साथै, विशेष महाधिवेशनमाको सहभागी भयो वा भएन भन्ने आधारमा कुनै पूर्वाग्रह नराखिने स्पष्ट पार्नुभयो । थापाले असन्तुष्ट नेताहरूसँग निरन्तर संवादको प्रयास भइरहेको जानकारी दिँदै सबै पक्षलाई समेटेर महाधिवेशनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी संवाद पनि गर्छौँ, सबैलाई पूर्वाग्रह नराखी महाधिवेशनमा सहभागी गराउन चाहन्छौँ,’ उहाँले भन्नुभयो ।