जनता टाइम्स

१० चैत्र २०८२, मंगलवार २१:२८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ एजेण्डामाथि छलफल, बैठक भोलि पनि बस्ने 


काठमाडौं, चैत १०। आज बसेकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ एजेण्डा माथि छलफल भएकाे छ ।  सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा भएकाे बैठकको प्रारम्भमा सभापति थापाले मन्तव्य व्यक्त गर्दै गर्नुभएको थियो। बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न ११ वटा प्रस्तावहरू छलफलका लागि प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावहरूमा समसामयिक राजनीतिक विषय, सुशासन स्थापना गर्न पार्टीको भूमिका, संविधान संशोधनका लागि विज्ञसहितको समिति गठन, १५ औं महाधिवेशनको कार्यतालिका निर्धारण, केन्द्रीय निर्वाचन समिति गठन, प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश तथा स्थानीय सरकारको समीक्षा र समन्वय, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको व्यवस्थापन, केन्द्रीय लेखा समिति गठन लगायतका विषय समावेश रहेका छन्।

बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभएको छ। धारणा राख्ने क्रम जारी रहेकाले बैठक चैत ११ गते बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको जनाइएको छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयवावु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर वानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय र रामपल्टन साह लगायतले धारणा व्यक्त गर्नुभएको थियो।

त्यसैगरी, प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर वानियाँ (बागमती) ले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।