जनता टाइम्स

११ चैत्र २०८२, बुधबार ०७:५६

सरकारमा सहभागी हुने हल्लामा कुलमान घिसिङको स्पष्टिकरण : मेरा विरुद्ध भ्रम फिँजाइयाे, गैरसांसद मन्त्री बन्न सक्दैन 


काठमाडौं, चैत ११। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू नयाँ बन्न लागेको सरकारमा सहभागी हुने भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएकाे छ ।

अध्यक्ष घिसिङले एक धारणा सार्वजनिक गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो सरकार सहभागिताबारे भइरहेको टिकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नु भएकाे हाे। उहाँले नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने स्पष्ट पार्दै त्यसविपरीतका सबै अड्कलबाजीलाई अस्वीकार गर्नु भएकाे छ । ‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयाे, ‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’

घिसिङले सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म कसैसँग कुनै छलफल नभएको पनि प्रष्ट पार्नुभयाे। उहाँले आफ्नो पार्टी हाल सरकार गठनको जोडघटाउभन्दा बाहिर रहेर संगठन सुदृढीकरणमा केन्द्रित रहेको बताउनुभएकाे छ । ‘यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल भएको छैन,’ उहाँले भन्नुभयाे, ‘हामी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्दै उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौँ।’

उहाँले सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माणप्रति पार्टीको प्रतिबद्धता अटल रहेको पनि उल्लेख गर्नुभयाे। साथै, आफूविरुद्ध फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन उहाँले सर्वसाधारणलाई आग्रह गर्नु भएकाे छ । ‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु,’ अध्यक्ष घिसिङले भन्नु भएकाे छ ।