जनता टाइम्स

११ चैत्र २०८२, बुधबार ०९:२७

सुधारको सुरुवात माथिल्लो तहबाटै गर्नुपर्छ, नत्र जनताले नै गुल्ट्याउँछन् : सांसद महावीर पुन


काठमाडौं,  चैत ११। प्रतिनिधि सभा सदस्य महावीर पुनले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र विभिन्न बेथितिहरू अन्त्य गर्न माथिल्लो तहबाटै सुधारको अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले अबका दिनमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाद र भनसुनजस्ता प्रवृत्तिहरू हटाउने जिम्मेवारी प्रधानमन्त्री, मन्त्रीहरू, नवनिर्वाचित सांसदहरू तथा उच्च तहका कर्मचारीहरूबाटै सुरु हुनुपर्ने बताउनुभएको छ। ‘माथिका तहका नेतृत्व सुधारिए मात्रै तलसम्म सकारात्मक प्रभाव पर्छ,’ उहाँको भनाइ छ।

सांसद पुनले विशेष गरी नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै भनसुनवाद, नातावाद र चाकरीवादजस्ता कुसंस्कारबाट टाढा रहन आग्रह गर्नुभएको छ। यस्ता प्रवृत्तिहरूमा संलग्न भए जनताले स्वीकार नगर्ने र अन्ततः नेतृत्व नै परिवर्तन गर्न सक्ने उहाँले चेतावनी दिनुभएको छ।

उहाँले सुशासन स्थापनाका लागि राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र दुवै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै व्यवहारमै सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ,  ‘अब आउने दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरू हटाउने अभियान प्रधानमन्त्री सहित मन्त्रीहरू, नवनिर्वाचित सांसदहरू, सचिवहरू, सहसचिवहरूबाट नै सुरु गर्नु पर्छ। माथिका सुध्रे भने मात्र तलका सुध्रिन्छन् । नवनिर्वाचित सांसदहरू भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कारबाट एकदमै पर बस्नु होला। नत्र जनताले गुल्ट्याउँछन् । कुरा बुझ्नु भो ???”