काठमाडौं, चैत ११ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँलाई शपथ गराउनु भएको हो । अब केसीले बाँकी २ सय ७४ सांसदलाई शपथ गराउनु हुने छ । प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन नगरेसम्म उहाँले सभामुखको जिम्मेवारी सम्हाल्नु हुने छ ।
संसद सचिवालयका अनुसार शपथलगत्तै उहाँले सभामुखको हैसियतमा पाउने न्यूनतम सेवा सुविधा पाउनु भएको छ । उहाँलाई गाडी र नेपाल प्रहरीको तर्फबाट निजी सुरक्षा अधिकारी उपलब्ध गराइएको छ ।
सभामुखका रूपमा शपथ लिएपछि बिहीबार उहाँबाट अन्य सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । निर्वाचन आयोगले दिएको सूचीका आधारमा नवनिर्वाचित सांसदहरूलाई बिहीबार मध्याह्न १:३० बजे शपथ खुवाइनेछ ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ । उक्त आह्वानअनुसार एक दलको बहुमतको सरकार गठन हुने व्यवस्था रहेको छ ।
उक्त सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ समारोहको व्यवस्थापन राष्ट्रपतिको कार्यालयले गर्नेछ । शपथपछि बहाल हुने मन्त्रिपरिषद्ले प्रतिनिधिसभाको बैठकको मिति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ र सोहीअनुसार राष्ट्रपतिले बैठक आह्वान गर्नु हुने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद्ले सोही सीमाभित्र रहेर सिफारिस गर्नेछ ।
प्रतिनिधिसभाको बैठक बसेपछि संविधानको धारा ९१ अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चैत ५ गते निर्वाचन परिणामको प्रतिवेदन पेश गरिसकेको छ । त्यसअनुसार वैशाख ५ गतेभित्र संघीय संसदको बैठक बसिसक्नुपर्नेछ । उक्त बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।













प्रतिक्रिया दिनुहोस्