जनता टाइम्स

११ चैत्र २०८२, बुधबार १३:३८

कार्की आयोगको निष्कर्ष : भदौ २३–२४ का घटनामा सेना निष्क्रिय 


काठमाडौं, चैत ११ । भदौ २३ र २४ का घटनाका क्रममा नेपाली सेनाले आफ्नो मुख्य जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको निष्कर्ष गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निकालेको छ । आयोगको गोप्य प्रतिवेदनमा महत्वपूर्ण सरकारी संरचनाको सुरक्षामा खटिएको सेना निर्णायक अवस्थामा सक्रिय हुन नसकेको उल्लेख गरिएको हो ।

प्रतिवेदनअनुसार सिंहदरबार, शीतल निवास, संघीय संसद भवन र प्रधानमन्त्री निवासजस्ता संवेदनशील स्थानमा सेना तैनाथ भए पनि प्रदर्शन नियन्त्रण र समग्र सुरक्षामा अपेक्षित भूमिका देखिएको छैन । स्थानीय प्रशासन र अन्य सुरक्षा निकायले सहयोग माग्दा समेत प्रभावकारी साथ नपाएको गुनासो आयोगसमक्ष राखिएको उल्लेख छ ।

विशेषगरी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गर्दा सेना निष्क्रिय जस्तै बनेको, जसका कारण तोडफोड र आगजनीजस्ता घटनाबाट ठूलो क्षति भएको प्रतिवेदनमा औंल्याइएको छ । त्यस्तै, संसद भवन क्षेत्रमा समेत सेना उपस्थित भए पनि प्रहरीले अपेक्षित सहयोग नपाएको बयानहरू प्रतिवेदनमा समावेश गरिएको छ ।

सिंहदरबार जलाउन खोजिएको अवस्थासमेत रोक्नतर्फ सक्रिय नदेखिई सेना पछि हटेको विषयलाई आयोगले शंकास्पद रूपमा उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘भाद्र २४ गते बिहान प्रदर्शनकारीहरूले संघीय संसद भवन परिसरमा प्रवेश गरी आगजनी र तोडफोड सुरु गरेको केही बेरमै त्यहाँ खटिएको नेपाली सेनाको टुकडी परिसरबाट बाहिरिएको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।’

यद्यपि, आयोगले केही स्थानमा सेनाले उद्धार कार्यमा भूमिका खेलेको स्वीकार गरेको छ । विशेषगरी जोखिममा परेका सुरक्षाकर्मी तथा विशिष्ट व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न सेनाले सहयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।