काठमाडौं, चैत ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २४ गतेको घटनामा आफूलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाएर जबरजस्ती बाहिर पठाइएको बताउनुभएको छ।
उहाँले कार्की आयोगसमक्ष दिएको बयानमा भदौ २३ गतेसम्म कारागारको अवस्था सामान्य रहेको उल्लेख गर्दै भदौ २४ गते दिउँसो करिब १२:३० बजे कारागारका नाइकेहरूले आफूलाई कार्यालयमा बोलाई बाहिर असामान्य अवस्था सिर्जना भएको जानकारी गराएको बताउनुभयो। सुरक्षा निकायका प्रतिनिधिहरूले ठुलो भीड जम्मा भएको र आफूलाई परिवार तथा पार्टीको जिम्मा लगाई बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराएको उहाँको भनाइ छ।
उहाँले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको स्पष्ट पार्दै जेल प्रशासनले बारम्बार आग्रह गरेपछि मात्र कारागार परिसरभित्रबाट भीडलाई सम्बोधन गर्न तयार भएको बताउनुभयो। त्यस क्रममा माइकको व्यवस्था गर्न आग्रह गरिएको भए पनि आत्तिएको भीडले आफूलाई धकेल्दै कारागार बाहिर पुर्याएको उहाँले उल्लेख गर्नुभयो।
त्यसपछि कारागार नजिकै रहेको एक रेस्टुरेन्टको बार्दलीमा चढेर उहाँले भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गर्नुभएको बयानमा उल्लेख छ । उहाँका अनुसार कारागार प्रशासनले औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र तयार गर्ने प्रक्रिया अघि बढाएको भए पनि उक्त पत्र तयार नहुँदै भीडले उहाँलाई बाहिर लगेको थियो। पछि पत्र आएको जानकारी पाए पनि त्यसमा हस्ताक्षर वा लेखन प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभएको छ। सो पत्रबारे जेल प्रशासन नै जबाफदेही हुनुपर्ने उहाँको धारणा छ।
उहाँले भदौ २४ गतेको घटनामा आफ्नो तथा पार्टीको कुनै संलग्नता नरहेको दाबी गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले कुनै पनि हिंसात्मक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको उल्लेख गर्नुभएको छ। यदि कोही संलग्न भेटिए कडा कारबाही गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत आफू सुरक्षित स्थानमा पुगेको उहाँले जानकारी दिनुभएको छ। त्यसपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएको उहाँले बयान दिनुभएको छ । उहाँले सोही साँझ भिडियो सन्देशमार्फत आफू सुरक्षित रहेको र अदालतमा पुनः उपस्थित हुने जानकारी सार्वजनिक गरेको बयान दिनुभएको छ । उहाँका अनुसार भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि आफू पुनः नख्खु कारागार फर्किनुभएको हो।
यस घटनाबाट सिक्दै उहाँले कारागार सुधारका लागि खुला कारागार नीति अवलम्बन गर्नुपर्ने, कैदी बन्दीको मानसिक स्वास्थ्य तथा कानुनी परामर्श प्रणाली सुदृढ गर्नुपर्ने तथा कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव पनि दिनुभएको छ।
यस्तो छ लामिछानेको बयान :
प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुऱ्यायो। त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ । कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे । पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जबाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो । वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइयो ।
भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र “राष्ट्रिय स्वतन्त्र पार्टी” ले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौँ, र यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ र तत्क्षण नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएँ । सोही साँझ मैले भिडियो सन्देशमार्फत पनि जनतालाई “म सुरक्षित छु र अदालतमा पुनः उपस्थित हुनेछु” भन्ने जानकारी दिएँ ।
मिति भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि म पुनः नख्खु कारागार फर्किएँ । यस घटनाक्रमबाट सिक्दै कारागार सुधारका लागि खुला कारागार नीति अवलम्बन गर्नुपर्ने, कैदी बन्दीको मानसिक स्वास्थ्य तथा कानूनी परामर्श प्रणाली सुदृढ गर्नुपर्ने र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव म राख्दछु।













प्रतिक्रिया दिनुहोस्