काठमाडौं, चैत ११।तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गतेको घटनामा प्रहरीले कानुनअनुसार न्यूनतम बल प्रयोग गर्दै जटिल परिस्थितिको सामना गरेको बताउनुभएको छ।
उहाँले आन्दोलन तथा भीड नियन्त्रणसम्बन्धी वास्तविक जानकारी प्रहरी प्रधान कार्यालय, नक्सालस्थित रिपोर्टिङ प्रणालीमार्फत प्राप्त हुने उल्लेख गर्दै एरिया तथा प्रदेशबाट आउने सूचनाहरू ‘चेन अफ कमाण्ड’ अनुसार आदान–प्रदान हुने व्यवस्था रहेको स्पष्ट पार्नुभएकाे छ। विशेष अवस्थामा भने सम्बन्धित प्रमुखहरूसँग प्रत्यक्ष समन्वय गर्ने अभ्यास पनि रहेको उहाँले बताउनु भएकाे छ।
भदाै २३ र २४ काे घटना छानबिन गर्न बनेकाे कार्की आयोगलाई बयान दिँदै उहाँले भदौ २३ गते जेन–जेड युवाहरूको प्रदर्शन शान्तिपूर्ण हुने प्रारम्भिक जानकारी रहेको भए पनि केही उच्छृङ्खल समूहको घुसपैठबाट स्थिति बिग्रन सक्ने आकलन गरिएको उल्लेख गर्नुभएकाे छ। तर संघीय संसद् भवनमा तोडफोड र आगजनीसम्म पुग्ने विश्लेषण सुरुमा नभएको उहाँको भनाइ छ।
प्रहरीका कार्य विभाग तथा साइबर ब्युरोबाट ‘डिस्कर्ड’ जस्ता प्लेटफर्ममार्फत गतिविधि भइरहेको सूचना प्राप्त भएको र सो विषय सुरक्षा निकाय प्रमुखहरूको बैठकमा प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभएकाे छ ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयअघि नेपाल प्रहरीसँग औपचारिक परामर्श नभए पनि बन्द भएपछि सम्भावित सुरक्षा चुनौतीप्रति सजगता अपनाइएको उहाँले बताउनुभएकाे छ ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढेको रिपोर्ट आएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी जुलुस व्यवस्थापन र स्थिति नियन्त्रणमा राख्न निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभएकाे छ। सुरक्षा घेरा तोडेर प्रदर्शनकारी संसद् परिसरभित्र प्रवेश गरेपछि स्थानीय प्रशासन ऐनअनुसार संयमपूर्वक प्रहरी परिचालन गर्न निर्देशन दिइएको उहाँको भनाइ छ।
कर्फ्यु आदेश कार्यान्वयनमा प्रहरी महानिरीक्षकको प्रत्यक्ष भूमिका नहुने स्पष्ट पार्दै उहाँले फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूले कानुनबमोजिम आवश्यक परे गोली चलाउन सक्ने अधिकार राख्ने बताउनुभएकाे छ । उहाँका अनुसार ‘लाइभ फायर’ सामान्य अवस्था नभए पनि जटिल परिस्थितिमा अन्तिम विकल्पका रूपमा प्रयोग हुन सक्छ। सबै अवस्थामा केन्द्रबाट स्वीकृति लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको उहाँले उल्लेख गर्नुभएकाे छ ।
संसद् भवनको पर्खाल भत्काइएको, गेटमा आगजनी भएको, सुरक्षा पोस्टमाथि आक्रमण भएको र सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रण गुम्न सक्ने जोखिम बढेको उहाँले बताउनुभएकाे छ ।
उहाँका अनुसार उक्त घटनामा करिब २१ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको थियो भने प्रदर्शनकारी र प्रहरी दुवै घाइते भएका थिए। गोली लागेर संवेदनशील अंगमा चोट लाग्दा केहीको मृत्यु भएको हुन सक्ने उहाँले बताउनुभएकाे छ ।
कर्फ्यु आदेशपछि मात्र गोली चलेको आफ्नो विश्वास रहेको उल्लेख गर्दै उहाँले अन्तिम बल प्रयोग नगरेको भए संसद् भवनमा थप क्षति हुने निश्चित रहेको धारणा राख्नुभएकाे छ ।
उहाँले मानवीय क्षति कुनै एक व्यक्तिको निर्णय मात्र नभई जटिल परिस्थितिको परिणाम भएको बताउँदै आन्दोलन कसरी हिंसात्मक बन्यो भन्ने विषय गहन अनुसन्धानबाट मात्र स्पष्ट हुने बताउनुभएकाे छ ।
नख्खु कारागारबाट रवि लामिछाने बाहिरिएको विषयमा आफूलाई पूर्व जानकारी नभएको र पछि सम्पर्कमा आएको उहाँले उल्लेख गर्नुभएकाे छ । उहाँले आफूले कुनै गैरकानुनी आदेश नदिएको स्पष्ट पार्दै कानुन कार्यान्वयनमा परिस्थितिको भूमिका निर्णायक हुने बताउनुभएकाे छ ।
भदौ २४ गते प्रहरी कार्यालयहरूमा आक्रमण, आगजनी तथा प्रहरीमाथि नै आक्रमण भएपछि सीमित जनशक्तिबाट स्थिति नियन्त्रण गर्न कठिन भएको र ठूलो मानवीय क्षति रोक्न न्यूनतम बल प्रयोगको निर्देशन दिइएको उहाँले जानकारी दिनुभएकाे छ ।
उहाँका अनुसार थुनुवाहरूलाई सुरक्षित राख्न र आगजनीबाट जोगाउन समेत कठिन अवस्था सिर्जना भएको थियो। अत्यधिक बल प्रयोग गरिएको भए अकल्पनीय नरसंहार हुन सक्ने उहाँले औंल्याउनुभएकाे छ ।
कर्तव्यपालनका क्रममा ज्यान गुमाएका तीन प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराइएको, दुई जनालाई पदोन्नति तथा अन्यलाई पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभएकाे छ। साथै कर्तव्यमा लापरबाही गर्नेहरू विरुद्ध विभागीय छानबिन भइरहेको पनि उहाँले बताउनुभएकाे छ ।
उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन जोखिम मूल्याङ्कन, सूचना आदान–प्रदान, तालिम तथा अन्तर–निकाय समन्वयलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ ।
समग्रमा उक्त घटनाक्रम व्यक्तिगत निर्णयको परिणाम नभई अत्यन्त जटिल, तीव्र र बहुआयामिक सुरक्षागत परिस्थितिको उपज भएको उहाँको निष्कर्ष छ।
यस्ताे छ तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले दिनुभएकाे बयान :
कुनै पनि आन्दोलन वा भीड- नियन्त्रणसम्बन्धी वास्तविक स्थितिको जानकारी लिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा स्थापित रिपोर्टिङ प्रणाली नै मूल आधार हुने गरेको छ । सम्बन्धित एरिया तथा प्रदेशबाट प्र.प्र.का. अपरेसन मार्फत रिपोर्टिङ भई AIGP, DIGP, SSP, SP लगायतका अधिकृतहरूसँग Chain of Command अनुसार सूचनाको आदान-प्रदान र निर्देशनको क्रम सञ्चालन हुन्छ । विशेष अवस्थाहरूमा भने आवश्यकताअनुसार सम्बन्धित विभाग वा कार्यालय प्रमुखहरूमार्फत प्रत्यक्ष रूपमा सामान्य जानकारी लिन सकिने अभ्यास पनि रहेको छ ।
भाद्र २३ गते Gen-Z युवा पुस्ताद्वारा आयोजित प्रदर्शन शान्तिपूर्ण कार्यक्रमको स्वीकृति लिएर गरिएको भन्ने प्रारम्भिक जानकारी थियो। यद्यपि केही उत्श्रृंखल व्यक्तिहरूको घुसपैठ भई स्थिति उत्तेजक बन्न सक्ने आङ्कलन गरिएको थियो, तर संघीय संसद् भवनमा तोडफोड र आगजनी नै हुन सक्ने स्तरको विश्लेषण प्रारम्भमा गरिएको थिएन । प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा साइबर ब्युरोबाट Discord जस्ता प्लेटफर्ममा छलफल र तयारी भइरहेको सूचना प्राप्त भएको थियो, र सो विषय सुरक्षा निकाय प्रमुखहरूको बैठकमा प्रस्तुत गरिएको थियो। नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिनुअघि त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे नेपाल प्रहरीसँग औपचारिक राय-सल्लाह गरिएको थिएन तर बन्द भइसकेपछि सम्भावित चुनौतीप्रति सजगता अपनाइएको थियो ।
सोही दिन निषेधित क्षेत्र तोडी संघीय संसद् भवनतर्फ जुलुस अघि बढिरहेको रिपोर्ट प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको थिएँ । जुलुसलाई भेन्टिलेटर गर्न र स्थिति नियन्त्रणमा राख्न भनेको थिएँ । सुरक्षाकर्मीको घेरा तोड्दै प्रदर्शनकारी संसद् परिसरभित्र प्रवेश गरेको जानकारी पाएपछि स्थानीय प्रशासन ऐनअनुसार संयमपूर्वक प्रहरी परिचालन गर्न निर्देशन दिएको हुँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेपछि कर्फ्यु कार्यान्वयनको आफ्नै विधि र प्रक्रिया हुने भएकाले त्यसमा प्रहरी महानिरीक्षकको प्रत्यक्ष भूमिका नहुने तथ्य उल्लेख गर्न चाहन्छु ।
फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूले परिस्थितिले माग गरेमा कानुनबमोजिम गोली चलाउन सक्ने अधिकार राख्छन् र प्रत्येक अवस्थामा केन्द्रबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी बाध्यता छैन । सबै प्रकारका फायर प्रयोगअघि केन्द्रीय स्वीकृति अनिवार्य गरिएको भए फरक परिणाम आउन सक्थ्यो भन्ने अनुमान गर्न सकिएला, तर व्यवहारिक र कानुनी रूपमा प्रत्येक अवस्थालाई त्यसरी नियन्त्रित गर्न सम्भव हुँदैन। Live fire पूर्ण रूपमा प्रतिबन्धित गर्ने वा cease fire को विशेष आदेश दिने अधिकार प्रहरी महानिरीक्षकलाई छैन: नीतिगत रूपमा न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको थिएँ । महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, आत्मरक्षा तथा कर्फ्यु कार्यान्वयनको सन्दर्भमा फिल्डको अवस्थाअनुसार स्थानीय प्रशासन ऐनको दायराभित्र रही live ammunition प्रयोग हुन सक्ने प्रावधान रहेको छ ।
जब संसद् भवनको पर्खाल भत्काइयो, पश्चिम र दक्षिणतर्फका गेटमा आगजनी भयो, विभिन्न दिशाबाट पर्खाल नाघी परिसरभित्र प्रवेश गरियो, सुरक्षा पोस्टमा तैनाथ कर्मचारीहरूको हतियार खोस्ने प्रयास भयो, पोस्टहरूमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा भयो, त्यस बेला सुरक्षा नियन्त्रण गुम्न सक्ने जोखिम फिल्डका अधिकृतहरूले महसुस गरेका हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।
भाद्र २३ गतेको घटनामा करिब २१ जनाको मृत्यु भएको जानकारी पाएको छु । प्रदर्शनकारी तथा प्रहरी कर्मचारीहरू घाइते भएको विवरण नियमित रिपोर्टिङमार्फत प्राप्त भएको थियो । लाइभ राउण्ड प्रयोग सामान्य अवस्था होइन: भीडको दौडधुप, हजारौँ राउण्ड फायर, सयौँ घाइते भएको जटिल परिस्थितिमा दुर्भाग्यवश केही प्रदर्शनकारीलाई छाती, टाउको, अनुहार, घाँटी, पेटजस्ता संवेदनशील भागमा गोली लागेर मृत्यु भएको हुन सक्छ । संसद् परिसरमा अन्तिम बल प्रयोग भइसकेपछि तत्काल स्थिति नियन्त्रणमा आए पनि अर्को दिन थप आक्रामक बनेको जानकारी आएको थियो । मेरो विश्वासमा कर्फ्यु आदेशपछि मात्र गोली चलेको हो । संसद् भवनको कम्पाउण्ड वाल भत्किसकेको, गेट तथा सुरक्षा पोस्टमा आगजनी भइसकेको र परिसरभित्र तोडफोड सुरु भइसकेको अवस्थामा अन्तिम बल प्रयोग नगरेको भए संसद् भवनमा थप क्षति हुने निश्चित थियो भन्ने ठान्दछु ।
मानवीय क्षति कुनै एक व्यक्तिको एक दिनको निर्णयको परिणाम मात्र हो भन्ने मलाई लाग्दैन। Gen-Z युवाहरूको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक स्तरमा पुग्यो, कुन तत्त्वहरूको घुसपैठ वा कुन कारकहरूले आक्रोश बढायो भन्ने विषय गहन अनुसन्धानबाट मात्र स्पष्ट हुन सक्छ । तत्काल फिल्डमा खटिएका सुरक्षाकर्मी अन्य निकायहरूप्रतिको आक्रोशको निशाना मात्र बनेका हुन् भन्ने मेरो धारणा छ। सूचना सङ्कलन, विश्लेषण र सम्प्रेषणमा संलग्न राज्य निकायहरू धेरथोर जिम्मेवार रहेको देखिन्छ ।
घटना अत्यन्त दुखद भएकाले त्यसको प्रभाव देशभर पर्न सक्ने अनुमान सहित सबै प्रदेश प्रहरी प्रमुखहरूलाई साँझ ब्रिफिङ गरी संयमतापूर्वक सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएको थिएँ। सम्भावित आक्रमण, सार्वजनिक सम्पत्ति र राजनीतिक नेतृत्व वर्गमाथि खतरा हुन सक्ने आङ्कलन गरी स्थानीय सुरक्षा मूल्याङ्कन गर्न भनिएको थियो। भाद्र २४ गते बिहान सुरक्षा प्रमुखहरू सहित प्रधानमन्त्रीलाई बालुवाटारमा ब्रिफिङ गरिएको थियो, जहाँ ठुलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गर्ने कुरा भएको थियो ।
नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कसरी बाहिर आउनुभयो भन्ने जानकारी मलाई थिएन: बाहिर आइसकेपछि डी. पी. अर्यालको WhatsApp नम्बर मार्फत सम्पर्क गरिएको थियो । मैले दिएको वा नदिएको आदेशका कारण प्रत्यक्ष रूपमा परिणाम निर्धारण भयो भन्ने आरोप अस्वीकार गर्दछु। कानुन कार्यान्वयनमा परिस्थितिको भूमिका निर्णायक हुन्छ । घाइते तथा मृतकको शरीरबाट प्राप्त गोलीहरू परीक्षणका लागि पठाइएको जानकारी छ: खोका सङ्कलनबारे भने मसँग स्पष्ट जानकारी थिएन । सेवा निवृत्त हुँदासम्म १२ जनाको सनाखत बाँकी थियो, DNA परीक्षणको प्रयास भए पनि सबै अवस्थामा सम्भव नभएको रिपोर्ट प्राप्त भएको थियो ।
प्रहरी ऐन, २०१२ अनुसार हातहतियार वा सरकारी सम्पत्ति आक्रमणकारीलाई सुम्पनु गम्भीर अपराध हो: त्यसैले फिल्डको जोखिम र प्रहरीको जीवन रक्षालाई ध्यानमा राखी मूल्याङ्कन गर्नुपर्छ । मैले जानाजानी कुनै गैर कानुनी आदेश दिएको छैन । नेपाली सेनाको परिचालनबारे नीति-विधि स्पष्ट जानकारी नभएकाले धारणा राख्नु उपयुक्त ठान्दिन । अन्तर- एजेन्सी समन्वय जिल्ला सुरक्षा समितिदेखि केन्द्रीय सुरक्षा समितिसम्म सक्रिय थियो, यद्यपि प्रभावकारिता परिस्थिति अनुसार फरक देखियो ।
भाद्र २४ गते प्रहरीका अधिकांश कार्यालयहरूमा आक्रमण, तोडफोड, आगजनी र प्रहरीको समेत हत्या हुन सुरु भएपछि तत्काल कार्यालयमा रहेका जनशक्तिले मात्र अवस्था नियन्त्रण गर्न नसक्ने, सबै कार्यालयहरूमा आक्रमण भएको हुनाले तत्काल थप मद्दत परिचालन गर्न सम्भव नभएको र त्यहाँ विद्यमान जनशक्तिले गोली फायर गर्न सुरु गरे ठुलो मानवीय क्षतिको विकल्प नदेखिएको, थनुवाहरुलाई बन्द नै राखी रहने हो भने आगजनी हुँदा ठुलो अप्रिय अवस्था आउन सक्ने देखिएको कारण न्यूनतम बल प्रयोगको मात्र आदेशदिइएको हो । गोली चलाउन प्रेरित गरेको भए अकल्पनीय नरसंहार हुन जाने निश्चित थियो । तत्कालीन परिस्थितिमा उक्त आदेश उपयुक्त थियो ।
कर्तव्य पालनाका क्रममा सहादत प्राप्त ३ जना अमर प्रहरी परिवारलाई १० १० लाख रुपैयाँ उपलब्ध गराइएको, २ जना प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरिएको तथा अन्यलाई नगद पुरस्कार प्रदान गरिएको थियो। दायित्वबाट विमुख देखिएका कर्मचारीमाथि विभागीय छानबिन समिति गठन भएको र सोही समितिको सिफारिस अनुसार कारबाही हुने नै छ ।
टेलिभिजन अन्तर्वार्तामा प्रहरी जवानलाई लाइन लगाएर बयान लिँदा मनोबलमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको थिएँ: त्यो जाँचबुझ आयोगको भावना विपरीत थिएन । प्रहरी अन्य निकायहरू प्रतिको आक्रोशको केन्द्र बन्नु उचित होइन भन्ने आशय थियो ।
भविष्यमा यस्ता अवस्था दोहोरिन नदिन जोखिम मूल्याङ्कन, सूचना आदान-प्रदान, तालिम तथा अन्तर- निकाय समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता मैले औँल्याएको छु । समग्रमा उक्त घटनाक्रम व्यक्तिगत निर्णयको परिणाम नभई अत्यन्त जटिल, तीव्र र बहुआयामिक सुरक्षागत परिस्थितिको उपज थियो, जहाँ कानुनी सीमा, फिल्डको यथार्थ र मानवीय संवेदनशीलतालाई सन्तुलनमा राख्दै निर्णय लिनुपरेको थियो ।













प्रतिक्रिया दिनुहोस्