जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार ०७:४२

सिंहदरबार आगजनीका मुख्य दोषी पहिचानमा कार्की आयोग असफल


काठमाडौं, चैत १२ ।  भदौ २४ गते सिंहदरबारलगायत संवेदनशील क्षेत्रमा भएको आगजनी र हिंसात्मक प्रदर्शनका मुख्य दोषी पहिचान गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग असफल भएको निष्कर्ष सार्वजनिक भएको छ।

आयोगले प्रतिवेदनमा ठोस प्रमाणको अभाव, सीमित कार्यादेश तथा सुरक्षा निकायबाट आवश्यक ‘इन्टेलिजेन्स रिपोर्ट’ प्राप्त नहुँदा कसैलाई अभियोजनका लागि सिफारिस गर्न नसकिएको जनाएको छ।

प्रतिवेदनअनुसार भदौ २४ को घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि पर्याप्त सबुद प्रमाण फेला परेको छैन। “सरकारी वा गैरसरकारी निकायबाट सहयोग पुग्ने गरी आवश्यक इन्टेलिजेन्स रिपोर्ट प्राप्त हुन सकेन,” प्रतिवेदनमा उल्लेख छ।

उक्त दिन सिंहदरबार, संघीय संसद् भवन, राष्ट्रपति भवन लगायत सरकारी संरचनामा आगजनी तथा तोडफोड भएको थियो।

आयोगले वैज्ञानिक अनुसन्धानको प्रयासस्वरूप घटनास्थल आसपास रहेका व्यक्तिहरूको पहिचान गर्न नेपाल टेलिकमएनसेल बाट प्राप्त टेलिफोन टावर (BTS) डाटा अध्ययन गरेको जनाएको छ।

प्रतिवेदनले अब सरकारले विशेषज्ञसहितको अनुसन्धान टोली गठन गरी उक्त डाटालाई सीसीटिभी फुटेज, सामाजिक सञ्जालका दृश्य तथा अन्य प्रमाणसँग मिलाएर दोषी पहिचान गर्नुपर्ने सुझाव दिएको छ।

सुरक्षा व्यवस्थापनतर्फ आयोगले गम्भीर प्रश्न उठाएको छ। भदौ २३ मा अत्यधिक बल प्रयोग गरेको प्रहरीले २४ गते भने ‘अस्वाभाविक रूपमा निष्क्रिय’ देखिएको उल्लेख गर्दै नेतृत्वबाट आएको निर्देशनलाई जिम्मेवार ठहर गरिएको छ।

प्रतिवेदनअनुसार ‘बल प्रयोग नगर्ने, हतियार सुरक्षित राख्ने र थुनुवालाई छाडिदिने’ जस्ता निर्देशनले प्रहरीको मनोबल कमजोर बनाएको र त्यसले आन्दोलनकारीलाई थप उग्र बन्न मद्दत पुगेको निष्कर्ष निकालिएको छ।

आयोगले संकलित प्राविधिक प्रमाणको आधारमा थप अनुसन्धान अघि बढाई दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ नगर्न सरकारलाई सुझाव दिएको छ।