जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार ०९:०९

रविलक्ष्मी चित्रकारकाे बालेन लक्षित बयान : उ प्रधानमन्त्री भए पछि देश नै जलाउँछ 


काठमाडौं, चैत १२। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले ‘जेनजी आन्दोलन’का नाममा भएका हिंसात्मक गतिविधिबारे गम्भीर प्रश्न उठाउँदै तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (जो प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ)  लाई लक्षित गर्दै कडा अभिव्यक्ति दिनुभएको छ।

चित्रकारले आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी संरचना तथा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्ति र राजनीतिक दलका नेताहरूका घरमा लक्षित आक्रमण र आगजनी भएको उल्लेख गर्दै “काठमाडौं महानगरको भवन र बालेन साहको घर किन जलेन ?” भन्ने प्रश्न उठाउनुभएको छ।

उहाँका अनुसार भदौ २४ गते आफ्नै निवासमा ढुंगामुडा र आगजनी हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो। “घरमा ढुंगामुडा भइरहेको अवस्थामा को आयो थाहा भएन, हामी ढुंगा नलाग्ने ठाउँमा बसेका थियौँ, उनीहरू मार्न आएकै हुनुपर्छ,” उहाँले भन्नुभएको छ, “म कराउन पनि नसकी बेहोस भएँ, आगोले छोएपछि मेरो हात जलिहाल्यो, श्वास फेर्न नसकेर बेहोस भएँ।”

उहाँका अनुसार घटनाको करिब एक घण्टापछि मात्रै प्रहरीले उहाँलाई उद्धार गरेको थियो। “मलाई खोज्न प्रहरीलाई एक घण्टा जति लाग्यो होला,” उहाँले भन्नुभयो, “नेपाल प्रहरीका सई सन्तोष रुपाखेती, सरोज खड्का र सशस्त्रका विमल पन्तलगायतले मलाई फेला पारेर उद्धार गर्नुभयो”, भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगलाई उहाँले दिएको बयानमा उल्लेख छ ।

आगजनीका कारण आफूले दाहिने हात गुमाउनुपरेको र हालसम्म पनि पूर्ण रूपमा चलाउन नसक्ने अवस्था रहेको चित्रकारले बताउनुभयो। “अहिले पनि मेरो शरीर पोल्छ, आफ्नो काम आफैँ गर्न सक्दिनँ,” उहाँले भन्नुभयो।

घटनाको प्रकृतिमाथि प्रश्न उठाउँदै उहाँले योजनाबद्ध संलग्नताको आशङ्का व्यक्त गर्नुभयो। “सिंहदरबारजस्तो ठाउँमा महत्त्वपूर्ण कागजात कहाँ हुन्छ भन्ने थाहा नभई कसरी कम्प्युटर फुटाएर हार्डडिस्क लैजान सकिन्छ?” उहाँले प्रश्न गर्नुभएको छ, “यो सामान्य भीडको काम मात्र होइन।”

उहाँले सरकारले दोषीलाई कारबाही गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै अपराधीहरू खुलेआम हिँडिरहँदा पनि पक्राउ नपर्नु गम्भीर विषय भएको बताउनुभएको छ। “अपराधीलाई बाहिरै राखेर सरकारले कसरी चुनाव गराउँछ र कसलाई जिताउँछ ?” उहाँको प्रश्न छ, “अपराधका नायकहरू निर्भीक रूपमा हिँडिरहँदा सरकारले किन नियन्त्रण गर्न सकेको छैन ?”

चित्रकारले विशेष गरी बालेनलाई लक्षित गर्दै “ उसको घर र नगरपालिका मात्र किन बच्यो ? अरू सबै जल्ने तर उसको किन नजलेको, उ प्रधानमन्त्री भएपछि सबै जलाउँछ ” उहाँले भन्नुभएको छ ।

उहाँले सरकारलाई अपराधीलाई कानुनी दायरामा ल्याउन र यस्ता घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभएको छ।

यस्तो छ  राज्यलक्ष्मी चित्रकारकाे बयान :

भदौ २४ गते घरमा ढुंगामुडा भइरहेको अवस्थामा को आयो थाह भएन, हामी ढुंगा नलाग्ने ठाउँमा बसेका थियौँ। उनीहरू मार्न आएकै हुनुपर्छ, म कराउन नपाएर बेहोस भए। आगोले छुने बित्तिकै मेरो हात जलिहाल्यो र श्वास फेर्न नसकेर बेहोस भएँ । मलाई खोज्न प्रहरी भाइहरूलाई १ घण्टा जति लाग्यो होला। प्रत्यक्षदर्शीअनुसार, एकजना नेपाल प्रहरीको सईसाब सन्तोष रुपाखेती, सरोज खडका र सशस्त्रको विमल पन्त लगायत प्रहरीले मलाई खोजेर फेला पारे।

अहिले पनि मेरो शरीर पोल्छ र आफ्नो काम आफै गर्न सक्दिन । दाहिने हात राम्ररी चल्दैन। सिंहदरबारजस्तो ठाउँमा महत्त्वपूर्ण कागजात, सन्धि कहाँ छ भन्ने थाह भएको मान्छे संलग्न नभई, यो कम्प्युटरमा के छ भन्ने थाह नभई कसरी त्यही कम्प्युटर फुटाएर हार्डडिस्क लान्छ, आगजनी गर्छ ?

अपराधीलाई बाहिर राखेर सरकारले कसरी चुनाव गराउँछ र कस्लाई जिताउँछ ? अपराधी लाई ठाउँमा ल्याउन सरकार सचेत हुनपर्छ। अपराधका नायक निर्भीक रूपमा हिँडिरहँदा सरकारले किन पक्राउ गर्न सकेको छैन ? उसको घर र नगरपालिका मात्र किन बच्यो ? अरू सबै जल्ने तर उसको किन नजलेको, उ प्रधानमन्त्री भएपछि सबै जलाउँछ ।