जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार १४:१४

कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास : शंकर पोखरेल


काठमाडौं, चैत १२। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर टिप्पणी गर्दै उक्त आयोग निष्पक्ष छानबिनका लागि गठन नभएको धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार आयोगको प्रतिवेदनले नै त्यस तथ्यलाई पुष्टि गरेको छ।

महासचिव पोखरेलले कार्की आयोग र आम निर्वाचन ०८२ दुवै प्रक्रियामार्फत ‘अल्गोरिदम’ को प्रयोग गरी नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट देखिएको बताउनुभएकाे छ।  ‘ कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ, सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ’, पोखरेलकाे धारणा छ ।

उहाँका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ। ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणले नयाँ शक्तिको उदय भएको छ,’ उहाँले उल्लेख गर्नुभएकाे छ ।

महासचिव पोखरेलले वर्तमान परिस्थितिमा राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने संकेत गर्नुभयो। ‘अबको बाटो सजिलो नहुन सक्छ’, पोखरेलकाे टिप्पणि छ ।

यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु उपयुक्त हुने धारणा राख्दै उहाँले जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्ने अवसर दिनुपर्ने बताउनुभएकाे छ । लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद वर्तमान चुनौतीहरूको समाधान नभएको र दीर्घकालीन रूपमा विचारधारात्मक राजनीतिको विकल्प बन्न नसक्ने धारणा आफ्नो रहेको उहाँले बताउनुभएकाे छ।