जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार १६:२८

एमाले अध्यक्ष ओलीको सांसदहरूलाई निर्देशन : विषम परिस्थितिमा जिम्मेवार भूमिका निर्वाह गर्नुहोस् 


काठमाडौं, चैत १२। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरूलाई वर्तमान विषम परिस्थितिमा जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उहाँहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुहुने विश्वास व्यक्त गर्नुभयो। ‘अहिलेको विषम परिस्थितिमा तपाईँहरूले सांसदको हैसियतले अति जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो।

उहाँले महाभारतको प्रसंग उल्लेख गर्दै सत्यको पक्ष अन्ततः विजयी हुने विश्वास व्यक्त गर्नुभयो। ‘कौरवको सेना धेरै र शक्तिशाली थियो, पाण्डवको सेना थोरै थियो, तर अन्ततः नतिजा सत्यको पक्षमा आयो,’ उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले एमालेलाई अग्रगामी विचार बोकेको पार्टीका रूपमा चित्रण गर्दै अनुशासन र विचारमा आधारित भएर अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो। ‘हाम्रो पार्टी सबैभन्दा एड्भान्स विचार बोकेको पार्टी हो, यसलाई अनुशासित ढंगले अघि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो।

उहाँले पार्टीभित्र जिम्मेवारी कामका आधारमा बाँडफाँट हुने उल्लेख गर्दै पदका लागि व्यक्तिगत चाहना राख्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो। ‘लिङ्ग, क्षेत्र, धर्म, जातिका आधारमा होइन, काम, निष्ठा, सक्रियता र अनुशासनका आधारमा मूल्याङ्कन हुन्छ,’ उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो पार्टीविरुद्ध ‘मिडिया ट्रायल’ भइरहेको बताउनुभयाे । उहाँले कार्की आयोगप्रति संकेत गर्दै उक्त आयोग निष्पक्ष नहुने पार्टीले सुरुदेखि नै भनेकाे बताउनुभयो। ‘पहिल्यै धारणा राखिसकेका व्यक्तिलाई जिम्मा दिँदा सत्यमा आधारित प्रतिवेदन आउँदैन भन्ने हाम्रो भनाइ थियो,’ उहाँले उल्लेख गर्नुभयो।

आफ्नो सन्दर्भमा आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरेको विषय उठाउँदै उहाँले त्यसमा असहमति जनाउनुभयो। ‘सो दफा अनुसार कारबाही चलाउन व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्छ, तर उपस्थित नै नभएको व्यक्तिलाई सिफारिस गरिएको छ,’ उहाँले भन्नुभयो। प्रधानमन्त्रीले गोली नचलाउने र त्यस्तो आदेश नदिने पनि उहाँको भनाइ थियो।

निर्वाचन परिणामबारे टिप्पणी गर्ने समय नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले यसपटकको निर्वाचनलाई ‘अनपेक्षित, अपत्यारिलो र जादुमय’ भएको टिप्पणी गर्नुभयो।

उहाँले एमालेविरुद्ध घृणाको राजनीति भएको बताउँदै राम्रो कामकै कारण आफ्नो पार्टीमाथि आक्रमण केन्द्रित भएको बताउनुभयो। ‘असभ्य र अश्लील गालीगलौजमार्फत प्रहार भयो, तर हाम्रो सभ्य शैलीले त्यसको प्रभावकारी जवाफ दिन सकेन,’ उहाँले स्वीकार गर्नुभयो।

अध्यक्ष ओलीले पार्टी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सांसदहरूलाई थप सक्रिय र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।