काठमाडौं, चैत १२ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारबाट बिदा हुन लाग्दा देशबासीका नाममा सम्बोधन गर्नुहुँदै हालै सम्पन्न निर्वाचनमार्फत मुलुकलाई स्थायित्वतर्फ डोर्याउन सफल भएको बताउनुभएको छ।
उहाँले सम्बोधनको सुरुवातमै भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। साथै, प्रभावित परिवारलाई ‘तपाईंहरू एक्लो हुनुहुन्न’ भन्दै राज्य सधैँ साथमा रहने विश्वास दिलाउनुभयो।
उहाँले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै मुलुक पुनर्निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आफूले भदौ २७ गते जिम्मेवारी सम्हाल्दा देश जटिल संकटमा रहेको स्मरण गर्दै त्यस्तो अवस्थामा पनि निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार गठन गरिएको बताउनुभयो। ‘६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उहाँले भन्नुभयो।
उहाँका अनुसार ७६ जनाको मृत्यु, २६ सयभन्दा बढी घाइते र अर्बौँको क्षति भएको कठिन परिस्थितिबीच पनि सरकारले सुरक्षा निकायको मनोबल उच्च बनाउँदै प्रशासनलाई सक्रिय र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार पार्न सफल भएको थियो।
सरकार गठनसँगै निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइएको उल्लेख गर्दै उहाँले फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारी र कर्मचारीहरूको उहाँले प्रशंसा गर्नुभयो। साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको योगदानको उच्च मूल्यांकन गर्नुभयो।
उहाँले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्नुहुँदै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सबैले खेलेको भूमिकाको सराहना गर्नुभयो।
प्रधानमन्त्री कार्कीले यस निर्वाचनले देशमा सकारात्मक अभ्यासहरू स्थापित गरेको उल्लेख गर्दै सुरक्षा, स्वच्छता र समयपालनका दृष्टिले नयाँ मापदण्ड कायम भएको बताउनुभयो। साथै, ‘निःस्वार्थ भावले काम गर्दा जनताको साथ पाइन्छ’ भन्ने पाठ यसले सिकाएको उहाँको भनाइ थियो।
उहाँले नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाई दिँदै नयाँ सरकारले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, रोजगारी सिर्जना र सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
छोटो कार्यकालका कारण सबै काम सम्पन्न गर्न नसकिए पनि केही आधारशिला तयार गरिएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार र जटिल अपराधको अनुसन्धानमा संलग्न निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न प्रेरित गरिएको जानकारी दिनुभयो।
आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उल्लेख गर्दै आगामी सरकारले त्यसका सिफारिस कार्यान्वयन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। साथै प्रभावित उद्योग–व्यवसायको पुनरुत्थान र भौतिक संरचनाको पुनर्निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो।
सम्बोधनको अन्त्यमा उहाँले आफ्नो कार्यकालको मूल्यांकन जनतामा छाड्दै ‘केही राम्रो भएको भए त्यो यहाँहरूकै कारण हो, कमजोरी भए मेरो भागमा राखिदिनुहोला’ भन्नुभयो।
उहाँले सबै निकायलाई संवैधानिक मर्यादाभित्र रहेर काम गर्न आग्रह गर्दै अब नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको र मुलुकको उज्यालो भविष्यप्रति पूर्ण आत्मविश्वास रहेको उल्लेख गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्