काठमाडौं, चैत १३ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त हुनुभएका दीपक कुमार साहको विगतमा ठगी मुद्दामा पक्राउ परेको विवरण सार्वजनिक भएको छ ।
प्राप्त विवरणअनुसार वि.सं. २०७३ असोज १६ गते नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनामा साहले एमबिबिएस परीक्षामा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उहाँ पुतलीसडकस्थित वर्ल्ड वाइड कन्सल्टेन्सीका सञ्चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरी विवरणमा उल्लेख भएअनुसार साहले विभिन्न चिकित्सकसँग आफ्नो पहुँच रहेको दाबी गर्दै एक परीक्षार्थीलाई एमबिबिएसमा उत्तीर्ण गराइदिने प्रलोभन देखाउनुभएको थियो । सो क्रममा परीक्षार्थीका परिवारसँग रकम लिने सहमति भएको र उक्त प्रकरणमा उहाँसँगै अर्का एक व्यक्ति पनि पक्राउ परेका थिए ।
त्यतिबेला महानगरीय अपराध महाशाखामा परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीको विवरणमा साहले आफूलाई चिकित्सकसमेत भन्दै ठगी गर्ने प्रयास गरेको उल्लेख गरिएको थियो ।
उक्त घटनाबारे प्रतिक्रिया लिन खोज्दा नवनियुक्त मन्त्री साहले स्पष्ट जवाफ दिन अस्वीकार गर्नुभएको छ । सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले “अहिले यसबारे केही भन्न मिल्दैन” भन्दै थप टिप्पणी गर्न चाहनुभएन । पुनः जिज्ञासा राख्दा पनि उहाँले “त्यो विषयमा अहिले केही भन्न मिल्दैन” भन्दै फोन सम्पर्क नै टुंग्याउनुभएको थियो ।
दीपक कुमार साह हाल महोत्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तारका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सरकार गठनका क्रममा योग्यता, दक्षता र स्वच्छ छवि भएका व्यक्तिलाई प्राथमिकता दिने दाबी गरिएको अवस्थामा विगतमा ठगी आरोपमा पक्राउ परेको व्यक्ति मन्त्री नियुक्त भएको विषयले राजनीतिक तथा सार्वजनिक वृत्तमा चासो र बहस सिर्जना गरेको छ ।
यस विषयमा सरकारको आधिकारिक धारणा आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले पनि उक्त प्रकरणको हालको अवस्थाबारे कुनै स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।














प्रतिक्रिया दिनुहोस्