काठमाडौं, चैत १४ । नेकपा (एमाले)ले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
पार्टीका सचिव महेश बस्नेतले आन्दोलनमा सहभागी हुन आग्रह गर्दै आज बिहान ८:३० बजे बस्ने सचिवालय बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताउनुभएकाे छ।
पछिल्ला राजनीतिक घटनाक्रमले देशको लोकतान्त्रिक अवस्थामाथि गम्भीर चिन्ता उत्पन्न भएको उल्लेख गर्दै उहाँले अब आन्दोलनमार्फत प्रतिवाद गर्ने बताउनुभएकाे छ। बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक मानिने बताउँदै हालका घटनाले त्यसमा प्रश्न उठाएको धारणा राख्नुभएकाे छ। उहाँका अनुसार पछिल्ला गतिविधिले देशको राजनीतिक दिशा अस्थिर बन्न सक्ने संकेत देखिएको छ।
उहाँले बालेन्द्र साह नेतृत्वको सरकारद्वारा अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले द्वन्द्वको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिनुभएकाे छ। उहाँका अनुसार यस्तो कदमले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउँछ। ती नेताहरूलाई हिजो राति पक्राउ गरिएको हो।
बस्नेतले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै सरकारी सम्पदा र संरचना जोगाउन नसक्ने अवस्थामा देखिएको प्रहरी संगठन आज लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन हुनु दुःखद रहेको टिप्पणी गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्