जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०७:४७

एमाले सचिवालय बैठक बस्दै : पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाबारे छलफल हुने


काठमाडौं, चैत १४ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। गए राति पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाबारे छलफल गर्न बैठक बस्न लागेको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार बैठक आज बिहान साढे ८ बजे बस्नेछ। उक्त बैठकले पछिल्लो घटनाक्रमका सन्दर्भमा पार्टीको धारणा तय गर्नुका साथै संघर्षका कार्यक्रमसमेत निर्धारण गर्ने बताउनुभएको छ।

प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि अध्यक्ष ओलीलाई गए राति भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएको जनाएको छ। यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि सरकारले पक्राउ गरेको छ।

पछिल्लो घटनाक्रमसँगै मुलुकको राजनीतिक वातावरण थप तनावपूर्ण बन्दै गएको छ। एमालेले यस विषयलाई गम्भीर रूपमा लिँदै संगठनात्मक र राजनीतिक रणनीति तय गर्न लागेको जनाएको छ।