जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार १८:५२

माइतीघरमा एमालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप, झडप र लाठीचार्ज, देशै भरी आन्दाेलमा उत्रिए एमालेका जनसंगठन 


काठमाडौं, चैत १४ । नेकपा (एमाले)का जनसंगठनहरूले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। माइतीघर क्षेत्रमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको हो।

प्रदर्शनकारीहरूले अदालतअगाडि टायर बाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको जनाइएको छ। माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गर्दै आक्रोशित रूपमा प्रदर्शन गरेका थिए।

झडपका क्रममा प्रहरीको लाठी लागेर युवराज ओली घाइते हुनुभएको छ। उहाँ हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकाे र उहाँको टाउकोमा पाँच टाँका लगाइएको  एमाले सचिव महेश बस्नेतले जनकारी दिनुभयाे। त्यसैगरी रमिला नेपाल र राजु तिवारी पनि घाइते हुनुभएको छ।

घटनाका क्रममा राजु तिवारी, बिमल धमला, जगराज शाहीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा केही सवारी साधनमा समेत तोडफोड भएको जनाइएको छ।

पार्टी अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेकाे विराेधमा एमालेका जनसंगठनले आज देश भरी प्रदर्शन गरेका छन् ।

यसैबीच, एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङलाई पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो पर्ने चेतावनी दिनुभएको छ। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको बताउनु भएकाे छ ।

बस्नेतले हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएका उहाँले बताउनुभयाे ।

उहाँले झडपमा घाइते भएका व्यक्तिहरूको उपचारको व्यवस्था गर्न र पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न माग गर्दै यही अवस्था कायम रहे भोलि देशभरका जिल्ला सदरमुकाममा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्ने चेतावनी दिनुभयो। साथै, आज भएको प्रहरी हस्तक्षेपको विरोधमा भोलि पनि माइतीघर मण्डलामा आन्दोलन जारी रहने उहाँले बताउनुभयो।