काठमाडौं, चैत १४ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे प्रारम्भदेखि नै निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रह रहित छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। कांग्रेसले दुवै दिनका घटनालाई समान रूपमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारले पारदर्शी ढङ्ग नअपनाएको भन्दै आलोचना गरिएको छ। सञ्चार माध्यममार्फत सार्वजनिक भएका विवरणअनुसार प्रतिवेदनले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटेको तर भदौ २४ का घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको भन्दै यसलाई एकपक्षीय र अपूर्ण ठहर गरिएको छ। साथै, यसले विधिको शासनको मर्म विपरीत जाने उल्लेख गरिएको छ।
कांग्रेसले मन्त्रिपरिषद्को पछिल्लो निर्णयप्रति पनि आपत्ति जनाएको छ। एउटै घटनाका सन्दर्भमा तयार प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्ने क्रममा सरकारले ‘सेलेक्टिभ’ व्यवहार देखाएको आरोप लगाइएको छ। यसले कानुनी प्रक्रिया (ड्यु प्रोसेस) उल्लङ्घन भएको र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने खतरा रहेको पार्टीको भनाइ छ।
विज्ञप्तिमा भदौ २३ र २४ का घटनामा संलग्न सबै व्यक्ति तथा निकायमाथि निष्पक्ष, पारदर्शी र विधिसम्मत ढङ्गले अनुसन्धान, अभियोजन र कारबाही अगाडि बढाउनुपर्ने स्पष्ट गरिएको छ। दुवै दिनका घटनामा संलग्न जो–सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा कांग्रेस दृढ रहेको जनाएको छ।
साथै, पार्टीले सरकारलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै हतारमा लिइने निर्णयले कानुनको शासन कमजोर पार्न सक्ने र मुलुक पुनः द्वन्द्व तथा अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। ‘कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ, यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ’, कांग्रसले भनेको छ ।














प्रतिक्रिया दिनुहोस्