रामेछाप, चैत १४ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले रामेछाप आन्दोलित बनेको छ । शनिबार सदरमुकाम मन्थलीस्थित पार्टी कार्यालय अगाडि सडकमा उत्रिएर एमालेले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जलाउँदै सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले वर्तमान सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन्। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको पहिलो निर्णय नै पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको बताउँदै उनीहरूले गृहमन्त्री सुधन गुरुङको राजीनामाको माग गरेका छन्।
सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनकाे लागि भन्दै शनिबार बिहान एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमाले देश भर आन्दोलित भएको छ ।
यसैबिच नेकपा (एमाले) जिल्ला कमिटी रामेछापले आइतबार विरोध र्यालीसहित सरकारविरुद्ध थप प्रदर्शन गर्ने जनाएको छ। विरोध र्यालीसँगै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो । मध्यान्न १२ बजे पार्टी कार्यालयबाट निस्किएको र्यालीले प्रमुख जिल्ला अधिकारीलाई विराेधपत्र बुझाउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्