जनता टाइम्स

१५ चैत्र २०८२, आईतवार ०७:५५

आज अध्यक्ष ओलीको रिहाइ र नयाँ आयोगको माग गर्दै एमालेको देशव्यापी आन्दोलन गर्ने


काठमाडौं, १५ चैत । नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली को रिहाइ तथा उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग गर्दै आज देशव्यापी आन्दोलन गर्ने भएको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशभरका जिल्ला सदरमुकाममा विरोध र्‍याली आयोजना गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने निर्णय गरेको हो। सोही अनुसार आज विभिन्न जिल्लामा प्रदर्शनका कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेल ले अध्यक्ष ओलीको पक्राउ र गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै उक्त आयोग खारेज गरी नयाँ उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ।

एमालेले भदौ २३ र २४ गतेका घटनाबारे गठन गरिएको आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरेको छ। पार्टीले उक्त घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि नयाँ संरचनामा अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ।

यसैबीच, जिल्लास्तरमा समेत आन्दोलनको तयारी तीव्र पारिएको छ। पार्टीका स्थानीय नेताहरूले केन्द्रबाट निर्देशन आइसकेको भन्दै विरोध र्‍याली तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सुनिश्चित भएको बताएका छन्।

एमालेले अध्यक्ष ओली र रमेश लेखक माथि गरिएको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र गैरकानुनी कदम भएको दाबी गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। साथै, लोकतन्त्र, कानुनी राज्य र मानवअधिकारको संरक्षणका लागि अन्य राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई समेत आन्दोलनमा साथ दिन आह्वान गरेको छ।

पार्टीले आन्दोलनलाई थप सशक्त बनाउने संकेत गर्दै आगामी दिनमा अन्य दलहरूसँग संवाद र सहकार्य गर्ने पनि जनाएको छ।