जनता टाइम्स

१५ चैत्र २०८२, आईतवार १२:२७

हर्क साम्पाङका स्ट्याटसले राजनीतिक तरंग:  जेनजी आन्दोलनदेखि सरकारको भूमिकासम्म कडा प्रश्न, प्रधानमन्त्री र मन्त्रीकाे मापसे र लापसे जाँच गर्न माग


काठमाडौं, चैत १५ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएका धारावाहिक स्ट्याटसहरूले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

उहाँले ‘ जेनजी आन्दोलन’, सरकारको भूमिकादेखि राज्य संरचनासम्मका विषयमा तीखा अभिव्यक्ति दिनुभएको छ।

उहाँले  जेनजी आन्दोलनको नाममा डिस्काेर्ड मार्फत योजना बनाएर विद्यालय पोसाकमै युवालाई आन्दोलनमा उतारिएको, गोली चलाइएको र सम्पदा जलाइएको बताउँदै यस्ता गतिविधिमा संलग्न सबैलाई सरकारले पक्राउ गर्नुपर्ने बताउनुभएको छ।

‘सत्य बोल्दा गाली खानुपरे पनि तयार छु,’ भन्दै उहाँले समाजलाई ‘झुटोबाट सत्यतर्फ लैजानुपर्ने’ धारणा व्यक्त गर्नुभएको छ। साथै, देश र राज्यका संरचनाले न्याय पाउनुपर्ने र कुनै पनि प्रकारको विभेद अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

उहाँले सरकारको कामकारबाहीप्रति समेत प्रश्न उठाउँदै गृहमन्त्री छोटो समयमै चीन नाका पुगेको विषय उल्लेख गर्नुभएको छ। ‘देश कसको इशारामा चलिरहेको छ?’ भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ।

यसैबिच, उहाँले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मको दैनिक रूपमा मादक तथा लागु औषध सेवन परीक्षण गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ। देशको समग्र स्वास्थ्य र सुशासनका लागि यस्तो व्यवस्था आवश्यक रहेको उहाँको तर्क छ।

पत्रकारिता क्षेत्रप्रति पनि उहाँले सन्देश दिँदै पत्रकारमाथि हातपात नगर्न र पत्रकारहरूले पनि आक्रोशित भीडसँग संयमित शैलीमा संवाद गर्नुपर्ने धारणा राख्नुभएको छ।

साथै, ‘बारबरा फाउण्डेशन’ नामक संस्थाबारे प्रश्न उठाउँदै यसको उद्देश्य र सञ्चालनबारे स्पष्ट पार्न उहाँले आग्रह गर्नुभएको छ।

उहाँले आफू कुनै पक्ष वा विपक्षमा नभई न्यायको पक्षमा रहेको उल्लेख गर्दै भदौ २३ र २४ गतेका घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ।

यस्ता छन् उहाँका फेसबुक स्ट्याटस :

Discord मा योजना बनाएर gen z लाई school dress मा आन्दोलनमा बोलाउने, गोली चलाउने र सम्पदा जलाउने सबैलाई सरकारले पक्रेर देखाउनु पर्छ !

सत्य कुरा गर्दा जति गाली खान परे नि खान तयार छु म ! झुटो समाजलाई सत्यवादी समाज बनाएर सतीको श्राप मुक्त गर्नु छ मैले ! gen z लाई मात्रै होइन यो देशलाई र यो देशको जलेको सिंहदरबारका भित्ताहरूलाई पनि न्याय मिल्नु पर्छ ! विभेद हुनु हुँदैन !

२४ घण्टा नपुग्दै चीनको नाकामा पुग्न भ्याएछ गृह मन्त्री ! चीनले अघोषित नाकाबन्दी नि लाएछ ! यो सरकार कसको इशारामा चल्दै छ ? लिपुलेक तिर नि पुग्नु है हेर्न !

प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे ( मादक पदार्थ सेवन ) र लापसे ( लागु पदार्थ सेवन ) चेक जाँच दैनिक गरिनु पर्दछ ! सांसदहरूको पनि गर्नु पर्छ ! देशको स्वास्थ्यको लागि यो अनिवार्य छ !

पत्रकारलाई हातपात गर्नु हुँदैन ! पत्रकारहरूले पनि आक्रोशित भीडलाई आक्रामक भाषा शैलीमा होइन संयमित बनेर सोध्नु पर्छ ! अप्रिय घटना नघटोस् !

यो बारबरा फाउण्डेशन भनेको के रैछ ? कसले चलाउँदो रैछ ? अनि यसको काम के रैछ ? जान्ने बुझ्नेहर्ले भन्दिन् त !

म कसैको पक्ष या विपक्षमा होइन न्यायको पक्षमा अनि अन्याय र विभेदको विपक्षमा उभिन्छु ! Discort मा योजना बनाउने, २३ र २४ को घटना घटाउने सबैलाई कारबाही गरिनु पर्छ ! २३ गतेको घटनालाई मात्रै होइन २४ गते देश जलाउने योजना बुन्ने र अगुवाइ गर्नेलाई समेतलाई तान्नु पर्छ !