काठमाडौं, चैत १५। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत क्रियाशील कर्मचारी युनियन भंग गरिएको घोषणा गरिएको छ, जसले सरकारी निर्णयप्रति समर्थन हो कि दबाबको परिणाम भन्ने प्रश्न उठाएको छ।
युनियनका अध्यक्ष राजु ओलीयाले आज विज्ञप्ति जारी गर्दै युनियन औपचारिक रूपमा भंग गरिएको जानकारी दिनुभएको हो। विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै युनियन विघटन गरिएको उल्लेख गरिएको छ।
सरकारले कर्मचारी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने भन्दै कर्मचारीका पेशागत संगठनहरू खारेज गर्ने योजना अघि सारेको छ। सोही योजनाको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डभित्र गठन गरिएको कर्मचारी युनियन भंग गरिएको जनाइएको हो।
सरकारको उक्त कदमप्रति विभिन्न तहबाट आलोचना सुरु भएको छ। विशेषगरी ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने प्रयास भएको भन्दै सरोकारवाला पक्षले आपत्ति जनाएका छन्।
सरकारी योजना सार्वजनिक हुनासाथ युनियन विघटनको घोषणा गरिनुले यस कदमलाई लिएर विभिन्न प्रश्न उब्जिएका छन् । यो सरकारप्रतिको चाकरी हो वा कर्मचारीहरूमा उत्पन्न मनोवैज्ञानिक त्रासको परिणाम ? भन्ने प्रश्न उठेकाे छ ।
यस विषयमा सम्बन्धित पक्षहरूको धारणा र आगामी प्रभावबारे बहस अझै जारी रहने देखिएको छ।













प्रतिक्रिया दिनुहोस्