जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार ११:३१

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै 


काठमाडौं, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

ओलीसम्बन्धी रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा तथा लेखकसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

ओलीको हकमा उहाँकी पत्नी राधिका शाक्य र लेखकको हकमा उहाँकी पत्नी यशोधा लेखकले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । रिटमा उहाँहरूलाई गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ ।

प्रहरीले गौरी आयोगको सिफारिसका आधारमा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने भन्दै जेन–जी आन्दोलनमा हेलचेक्र्याइँ गरेको आरोपमा दुवै नेतालाई शनिबार बिहान पक्राउ गरेको थियो ।

यसअघि आइतबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उहाँहरूलाई पाँच दिनसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

आज हुने सुनुवाइलाई राजनीतिक तथा कानुनी वृत्तमा चासोका साथ हेरिएको छ ।