जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार १४:२६

पार्टी अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेको प्रदर्शन जारी, माइतीघरबाट बबरमहलतर्फ मार्च


काठमाडौं, चैत १६ । नेकपा (एमाले)ले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै एमालेले आन्दोलनलाई थप सशक्त बनाएको हो ।

आज दिउँसो एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौंको माइतीघर मण्डलामा भेला भई बबरमहलतर्फ प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

पार्टीले यस कदमलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप र राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअघि एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत माइतीघरमा हुने प्रदर्शनमा सक्रिय रूपमा सहभागी हुन नेता–कार्यकर्ता तथा समर्थकहरूलाई अपिल गर्नुभएको थियो । उहाँले अध्यक्ष ओलीमाथि भएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै सशक्त विरोधमा उत्रिन आग्रह गर्नुभएको थियो ।