जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार २१:००

कांग्रेस,एमाले र अरू प्रतिपक्षीहरू पपुलिजमको उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर : संविधानविद् टीकाराम भट्टराई 


काठमाडौं, चैत १६ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् टीकाराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा प्रमुख दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहन आग्रह गर्नुभएको छ।

भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य प्रतिपक्षी दलहरूलाई लामो राजनीतिक संघर्षका लागि आन्तरिक रूपमा बलियो बन्न सुझाव दिनुभएको हो। उहाँले यो लडाइँ छोटो नभई केही लामो समयसम्म चल्न सक्ने भएकाले दलहरूले सबैभन्दा पहिले आफ्नो ‘घर’ अर्थात् संगठनलाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ। त्यसका लागि भ्रष्ट, अनैतिक तथा जनतामाझ तिरस्कृत अनुहारहरूलाई बिदा गरेर स्वच्छ राजनीतिक नेतृत्व अघि सार्नुपर्ने उहाँको जोड थियो।

भट्टराईले पपुलिजमको उत्कर्ष भएको अवस्थामा न्यायालयमाथि भरोसा नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराउनुभएको छ। उहाँका अनुसार यस्तो परिस्थितिमा नागरिक हक, प्रेस स्वतन्त्रता तथा प्रजातान्त्रिक स्पेस क्रमशः साँघुरिँदै जाने जोखिम रहन्छ। लोकतान्त्रिक संस्थाहरू कमजोर हुने सम्भावनाप्रति सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।

उहाँले लोकतन्त्रको रक्षा केवल अदालतको निर्णयबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राजनीतिक दलहरू स्वयं जिम्मेवार, संगठित र जनउत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस्तो छ उहाँको फेसबुक स्ट्याटस : 

कांग्रेस,एमाले र अरू प्रतिपक्षीहरू

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाई एक साथ लड्न तयार रहु। यो लडाई अलि लामो हुन सक्छ । तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर, भ्रष्ट , अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर । पपुलिजमको उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर । पपुलिजमको उत्कर्षमा नागरिक हक,प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस सङ्कुचित हुन्छ भन्ने हेक्का राख।