जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १०:२३

वाह ! अब नेपालमै गाडी बन्ने, रुपन्देहीमा खुल्ने भो कम्पनी


काठमाडौं, मंसिर २६

कोरियाली दुई ब्राण्डका गाडी हुन्डाई र कियाको उत्पादन नेपालमा नै हुने पक्का भएको छ । त्यसका लागि लगानी बोर्डले कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मोटेक्सले नेपालमा करिब ११ अर्ब रुपैयाँ लगानी गरेर गाडी उत्पादन गर्ने छ । त्यसका लागि रुपेन्देहीको मोतिपुरमा जग्गा पाउने भएको छ ।

मोटेक्सले नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने सम्झौता भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । मोटेक्सले कोरियास्थित हुन्डाई र किया ब्राण्डका गाडीसँग नेपालमा एसेम्बल गरी उत्पादन गर्ने सम्झौता गरिसकेको कागजहरु लगानी बोर्डमा प्रस्तुत गरेको छ ।

बोर्डसँग भएको सम्झौता अनुसार वातावरणिय प्रभाव मूल्यांकन (इआइए) सकिएको ३ वर्षभित्र प्लान्ट स्थापना गरी गाडी उत्पादन हुनेछ । इआइएका लगानी करिब १ वर्ष लाग्ने अनुमान गरिएको छ । जस अनुसार इएआएपछि अन्तिम स्वीकृति पाए मोटेक्सले आगामी ४ वर्षभित्र नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने छ ।

हुन्डाई र किया कम्पनी कोरियाली हुन्डाई अन्तर्गत उत्पादन हुन्छन् । कोरिया बाहिर प्रतिस्पर्धी रहेपनि हुन्डाई र कियाको स्वामित्व हुन्डाई कम्पनीसँग रहेको छ । मोटेक्सको निश्चित अवधिका लागि आयकर र मेसिन तथा पार्टपुर्जा आयातमा भन्सार छुट दिनुपर्ने शर्तमा भने लगानी बोर्ड सहमत भएको छ ।