जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १४:४६

गाउँघरमा आधुनिकसँगै आयुर्वेद उपचार नागरिककाे रोजाइमा, रामेछापमा आयुर्वेद उपचार सेवाप्रति बढ्दो आकर्षण


रामेछाप, चैत १७ । गाउँघरमा सामान्य स्वास्थ्य समस्यादेखि दीर्घरोगसम्मका बिरामीले पछिल्ला दिनमा आधुनिक उपचारसँगै आयुर्वेदिक सेवा रोज्न थालेपछि रामेछापमा यसप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ। जिल्लामा विगत केही वर्षयता आयुर्वेदिक उपचार सेवा लिनेको संख्या निरन्तर बढ्दै जानु यसैको सङ्केत हो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा नागरिकको भरोसा आयुर्वेदिक उपचारतर्फ विस्तार हुँदै गएको देखाएको छ। विशेष गरी गाउँ–बस्तीका ज्येष्ठ नागरिक, हाड जोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामी र दीर्घकालीन उपचार खोज्ने सेवाग्राहीको संख्या आयुर्वदमा बढ्दै गएको चिकित्सालयले जनाएको छ।

चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ७ सय ८४ जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ८ हजार ८ सय ४६ पुगेको थियो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै ६ हजार १ सय ८१ जनाले सेवा लिइसकेका छन्। वर्षको बाँकी अवधि हेर्दा यो संख्या गत वर्षको भन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

यस बाहेक विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद औषधालय र आयुर्वेद आराेग्य केन्द्रले पनि सेवा प्रवाह गरिरहेका छन् ।

यो तथ्याङ्कले रामेछापमा आयुर्वेदिक उपचारप्रति नागरिकको भरोसा क्रमशः बलियो बन्दै गएको देखाउँछ। पहिले सामान्य जडीबुटी वा घरेलु उपचारको रूपमा बुझिने आयुर्वेद अब व्यवस्थित स्वास्थ्य सेवाको रूपमा स्थापित हुँदै गएको चिकित्सकहरूको भनाइ छ।

ज्येष्ठ नागरिकतर्फको सेवामा झनै उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ९ सय ६२ जनाले सेवा लिएकोमा गत वर्ष ३ हजार १ सय ५४ जना पुगेका थिए। चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ३ सय ५० जना ज्येष्ठ नागरिकले सेवा लिइसकेका छन्।

विशेष गरी बाथ, जोर्नी दुखाइ, नशा च्यापिने, निद्रासम्बन्धी समस्या र दीर्घकालीन कमजोरीजस्ता समस्यामा ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचारलाई प्राथमिकता दिन थालेको चिकित्सालयको अनुभव छ।

अकुपञ्चर सेवामा पनि आकर्षण तीव्र रूपमा बढेको देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ९ सय २३ जनाले सेवा लिएकोमा गत वर्ष १ हजार ८२ जना पुगेका थिए। चालु आर्थिक वर्षको फागुनसम्म १ हजार ६ सय ४३ जनाले सेवा लिइसकेका छन्।

यसले विशेष गरी नसासम्बन्धी दुखाइ, ढाड, घाँटी, काँध तथा शरीरका विभिन्न भागमा हुने पुराना पीडाका बिरामीले आयुर्वेदिक विकल्प रोजिरहेको सङ्केत गर्छ।

त्यस्तै फिजियोथेरापी सेवामा पनि सेवाग्राहीको उपस्थिति उल्लेख्य छ। चालु आर्थिक वर्षको हालसम्म १ हजार ४ सय ४ जनाले सेवा लिइसकेका छन्। गत आर्थिक वर्षमा १ हजार ६ सय ९० जना र त्यसअघिको वर्ष १ हजार १ सय ७० जनाले यो सेवा लिएका थिए।

चिकित्सालयले सेवा केन्द्रमै सीमित नराखी गाउँ–गाउँसम्म पुर्‍याउने प्रयास पनि अघि बढाएको जनाएको छ। साप्ताहिक रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको र जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शिविर पुर्‍याउने योजनाअनुसार काम भइरहेको निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार शिविर सञ्चालनका लागि विभिन्न औषधि कम्पनीहरूले निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएका छन्। यसले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन मद्दत पुगेको छ।

कार्यक्रममा चिकित्सालयका डा. उत्तम गैरेले आयुर्वेदिक उपचारको महत्वबारे प्रकाश पार्दै आयुर्वेद मानव जीवनको सुरुवातसँगै विकसित भएको उपचार प्रणाली भएको बताउनुभयो। उहाँले आयुर्वेद शरीरको रोग उपचारमा मात्र सीमित नभई समग्र जीवनशैलीलाई स्वस्थ र सन्तुलित बनाउने पद्धति भएको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार अहिलेको व्यस्त जीवनशैली, खानपानको असन्तुलन र मानसिक तनावका कारण धेरै रोग बढिरहेका बेला आयुर्वेदिक उपचारले दीर्घकालीन समाधान दिन सक्ने सम्भावना बढी हुन्छ।

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले चिकित्सालयले जिल्लामा आयुर्वेदिक सेवा विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर यस क्षेत्रको थप विकासका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले आगामी दिनमा बिरामी भर्ना गरेरै सेवा दिने योजनामा चिकित्सालय अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार लामो समय उपचार आवश्यक पर्ने बिरामीका लागि यस्तो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।

उहाँले सेवा प्रवाहमा सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै आयुर्वेदिक उपचारलाई जिल्लामा थप प्रभावकारी र पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताउनुभयो।

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख थापाको प्रमुख आतिथ्यता तथा अध्यक्ष पथिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूलाई चिकित्सालयका सेवा, चुनौती र उपलब्धिबारे विस्तृत जानकारी गराइएको थियो।

याे तथ्याङ्कलाई रामेछापमा आधुनिक उपचार सेवासँगै आयुर्वेदिक उपचार पनि नागरिकको रोजाइमा पर्न थालेको स्पष्ट सङ्केत देखिएको छ। गाउँघरमा स्वास्थ्य चेतना बढ्दै जाँदा प्राकृतिक र दीर्घकालीन उपचार पद्धतिप्रति विश्वास बढ्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ।