जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १५:०८

कांग्रेसमा शक्ति–सन्तुलनको नयाँ संकेत, देउवा पक्षको छुट्टै रणनीतिक भेला धुम्बाराहीमा


काठमाडौं, चैत १७ । नेपाली कांग्रेसभित्र विकसित नेतृत्व–बहस र शक्ति सन्तुलनको नयाँ समीकरणबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको छुट्टै रणनीतिक भेला धुम्बाराहीमा जारी रहेको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको यो बैठकलाई पार्टीभित्रको आन्तरिक शक्ति प्रदर्शन र आगामी राजनीतिक मार्गचित्र तय गर्ने प्रयासका रूपमा हेरिएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित ‍गगन थापाई सभापतिका रूपमा अस्वीकार गर्ने देउवा पक्षको धारणा सार्वजनिक भइरहेका बेला पूर्वसभापति देउवाले जिम्मेवारी दिनुभएका पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाउनुभएको हो।

यस बैठकलाई कांग्रेसभित्र नेतृत्वको वैधता, संगठनात्मक नियन्त्रण र आगामी महाधिवेशनको दिशा तय गर्ने महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा हेरिएको छ। विशेषगरी पार्टीको औपचारिक नेतृत्वबारे देखिएको मतभेदका बीच देउवा पक्षले आफ्नो प्रभाव र एकता प्रदर्शन गर्न खोजेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

बैठकमा तत्कालीन कार्यसमितिका पदाधिकारीसहित ६० जनाभन्दा बढी नेताहरूको सहभागिता रहेको छ। वरिष्ठ नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सशांक कोइराला लगायत शीर्ष नेताहरूको उपस्थितिले बैठकलाई थप अर्थपूर्ण बनाएको छ।

त्यस्तै बद्री पाण्डे, जीवन परियार, मोहन बस्नेत, महेन्द्र सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह र आशा विकलगायत नेताहरू पनि बैठकमा सहभागी हुनुहुन्छ।

यस्तै अम्बिका बस्नेत, आनन्द ढुङ्गाना, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, दीलेन्द्र बडू, शिव हुमागाईं, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, किरण पौडेल, सीता गुरुङ, पद्मनारायण चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विक, दीपक गिरी, कुन्दन काफ्ले, श्याम घिमिरे र गेहेन्द्र गिरीको पनि सहभागिता रहेको छ।

यसैगरी रामहरि खतिवडा, जीवनबहादुर शाही, सीता राना, राधा घले, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली र शंकर भण्डारी पनि उपस्थित हुनुहुन्छ।

प्रदेश तहबाट पनि महत्वपूर्ण उपस्थिति देखिएको छ। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाहीको सहभागिताले बैठकलाई केन्द्रीय मात्र नभई प्रदेशस्तरीय शक्ति सन्तुलनसँग जोडिएको संकेत दिएको छ।

पार्टीभित्र नेतृत्वको विषयलाई लिएर बहस तीव्र भइरहेका बेला देउवा पक्षको यो भेला कांग्रेसभित्र आगामी राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ। बैठकबाट नेतृत्व, संगठन र रणनीतिबारे महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।