जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १५:५९

केपी ओली पक्राउबिरुद्ध सशक्त आन्दोलन गर्नेसहित यस्ता छन् एमालेका ९ निर्णय


काठमाडौं,

चैत १७ । नेकपा एमालेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्धको आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले आन्दोलन सशक्त बनाउने ९ निर्णय गरेको छ । बैठकले शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गरेको छ । बैठकले सरकारको ज्यादतीविरुद्ध चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय एमालेले गरेको छ । यसै गरी बैठकले सरकारद्वारा विद्यार्थी तथा पेसागत सुगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसङ्गठनहरूले आ–आफ्नो ढङ्गले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने र बुधवार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बसेर आन्दोलन चर्काउने कार्यक्रम अघि सार्न निर्देशन दिएको छ ।

बैठकले सरकारको प्रतिशोधपूर्ण कार्यविरुद्ध सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ भने सांसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।

यस्तै बुधवार ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । यसै गरी एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

यस्ता छन् निर्णय

पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६. सरकारद्वारा विद्यार्थी तथा पेसागत सुगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसङ्गठनहरूले आ–आफ्नो ढङ्गले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।

८. सांसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।