काठमाडौं, चैत १७। नेकपा एमालेले वर्तमान राजनीतिक परिस्थितिबारे सर्वपक्षीय नागरिक संवाद अघि बढाउन तीन जना नेतालाई विशेष जिम्मेवारी दिएको छ। आज बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई तथा केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिएको हो।
पार्टीका महासचिव शंकर पोखरेलका अनुसार बैठकले विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दल, संघ–संगठन तथा नागरिक समाजसँग संवाद विस्तार गर्ने निर्णय गरेको हो। एमालेले यसलाई लोकतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता र राजनीतिक सहमतिका लागि आवश्यक पहलका रूपमा व्याख्या गरेको छ।
सचिवालय बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएलगत्तै सुरु भएको धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ। बैठकले पछिल्ला घटनाक्रमलाई ‘राज्य आतङ्कतर्फ उन्मुख’ भएको निष्कर्ष निकालेको जनाएको छ।
एमालेले सरकारका तर्फबाट भएको भनिएको दमन, धरपकड र राजनीतिक प्रतिशोधको विरोधमा साझा धारणा निर्माण गर्न सबै राजनीतिक दल, विभिन्न संघ–संगठन तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेको छ।
पार्टीले लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको संरक्षणका लागि व्यापक राजनीतिक तथा सामाजिक संवाद अपरिहार्य रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा आन्दोलन र संवादलाई सँगसँगै अघि बढाउने संकेत दिएको छ।
यस निर्णयलाई वर्तमान सत्ता समीकरणविरुद्ध विपक्षी मोर्चा बलियो बनाउने एमालेको रणनीतिक कदमका रूपमा पनि हेरिएको छ। संवादको जिम्मेवारी पाएका नेताहरूले विभिन्न राजनीतिक शक्ति र नागरिक समाजसँग छलफल सुरु गर्ने तयारी गरिरहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्