जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १६:५०

संसदभित्र सहकार्य सुदृढ गर्न एमालेले राबहादुर थापा र पद्माअर्याललाई दियाे जिम्मेवारी 


काठमाडौं, चैत १७ । नेकपा एमालेले संसदभित्र अन्य राजनीतिक दलसँग सहकार्य सुदृढ बनाउन उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी प्रदान गरेको छ। पार्टीले संसदीय दलको नेतासहितका पदहरू औपचारिक रूपमा तोकिनसकेको वर्तमान अवस्थामा अन्तरिम व्यवस्थाका रूपमा उहाँहरूलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार संसदभित्र प्रभावकारी उपस्थितिसहित अन्य दलहरूसँग समन्वय र सहकार्यलाई मजबुत बनाउन थापा र अर्याललाई जिम्मेवारी दिइएको हो। उहाँले वर्तमान राजनीतिक परिस्थितिमा संसदको भूमिकालाई थप सशक्त बनाउन समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।

एमालेले संसदमा आफ्नो धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्दै अन्य दलसँग संवाद र सहकार्य बढाउने रणनीति अघि सारेको छ। यस निर्णयलाई पार्टीको संसदीय रणनीति व्यवस्थित गर्ने प्रारम्भिक कदमका रूपमा पनि हेरिएको छ।

यसैबीच, पार्टीले भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक आह्वान गरेको छ। उक्त बैठकमा संसदीय दलको नेतृत्व, भावी रणनीति तथा संसदमा प्रस्तुत हुने विषयहरूबारे थप छलफल हुने छ।