जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १९:३४

चुनावी समीक्षा र भावी रणनीतिका लागि कांग्रेस ७ प्रदेशका १६५ क्षेत्रमा अध्ययन–छलफल गर्ने


काठमाडौं, चैत १७ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गर्दै आगामी राजनीतिक मार्ग तय गर्न देशका सातै प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग समीक्षा छलफल र क्षेत्रगत अध्ययन गरिने भएको हो।

पार्टीले जारी गरेको प्रेस नोटअनुसार ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ शीर्षकमा सातै प्रदेशमा कार्यक्रम आयोजना गरिनेछ। यसअन्तर्गत नेपाली कांग्रेसका तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचनसम्बन्धी समीक्षात्मक छलफल गरिनुका साथै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने जनाइएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका तोकिएका संयोजकसँग आवश्यक समन्वय गरी जिल्ला कार्यसमितिहरूले व्यवस्थापन गर्ने जनाइएको छ। कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरू, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशसभा क्षेत्रीय सभापतिहरू तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको उपस्थिति रहनेछ।

कांग्रेसले सार्वजनिक गरेको कार्यतालिका अनुसार कोशी प्रदेशको कार्यक्रम विराटनगरमा चैत २३ गते आयोजना गरिनेछ, जसको संयोजक डा. डिला संग्रौला पन्त रहनु भएको छ।

मधेस प्रदेशको कार्यक्रम जनकपुरमा चैत २५ गते हुनेछ भने यसको संयोजक फरमूल्लाह मन्सुर रहनु भएको छ।

बागमती प्रदेशको समीक्षा कार्यक्रम हेटौँडामा २०८३ वैशाख ७ गते आयोजना गरिनेछ। यसका लागि बहादुरसिंह लामा संयोजक तोकिनु भएको छ।

गण्डकी प्रदेशको कार्यक्रम पोखरामा चैत २७ गते हुनेछ भने संयोजक देवराज चालिसे रहनु भएको छ।

लुम्बिनी प्रदेशमा चैत २९ गते दाङमा कार्यक्रम आयोजना गरिनेछ, जसको संयोजक योगेन्द्र चौधरी रहनु भएको छ।

कर्णाली प्रदेशको कार्यक्रम २०८३ वैशाख ३ गते सुर्खेतमा हुनेछ भने संयोजक कर्णबहादुर बुढा रहनु भएको छ।

सुदूरपश्चिम प्रदेशको समीक्षा कार्यक्रम २०८३ वैशाख ५ गते कैलालीमा आयोजना गरिनेछ। यस प्रदेशको संयोजक प्रकाश रसाइली स्नेही रहनु भएको छ।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोटमा उक्त कार्यक्रममार्फत निर्वाचन परिणामको गहन समीक्षा गर्दै आगामी रणनीति र संगठन सुदृढीकरणको स्पष्ट मार्गचित्र तयार गरिने उल्लेख गरिएको छ।

कांग्रेसले यो अभियानलाई आगामी राजनीतिक दिशा, संगठन पुनर्संरचना र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको बुझिएको छ।