जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार २२:२६

रोशी खोलामा पानीको बहाव बढेपछि बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द


काठमाडौं, चैत १७ । लगातारको वर्षापछि रोशी खोलामा पानीको बहाव बढेपछि बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालन रोकिएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज साँझ ७ बजेदेखि राजमार्ग बन्द गरिएको जनाएको छ।

प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको छ। यसले सडक र अस्थायी डाइभर्सनमा उच्च जोखिम सिर्जना गरेपछि सवारी आवागमन तत्कालका लागि रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायतका स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ। उहाँले रोशी खोलामा सम्भावित बाढी र त्यसबाट राजमार्गमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो।

हाल सवारीसाधनलाई राजमार्गको प्रवेशबिन्दु धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरेर राखिएको प्रहरीले जनाएको छ। छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरी सवारी व्यवस्थापन र आवागमन नियन्त्रण गरिएको छ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न पनि अपिल गरिएको छ।

यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध बनाएको थियो। करिब ३६ घण्टापछि आइतबार बिहानबाट मात्रै सवारी सञ्चालन पुनः सुरु गरिएको थियो। त्यसबेला पनि सडक पूर्ण रूपमा सुरक्षित नभएकाले दुईतर्फी रूपमा सावधानीपूर्वक सवारी सञ्चालन गरिएको थियो।

शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा बनाइएको अस्थायी सडकसमेत बगाएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बाढीले क्षति पुर्‍याएको थियो। त्यसपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प बनेको थियो।

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन हुँदै आएको थियो।

मौसम प्रतिकूल रहेकाले यात्रु तथा सवारी चालकलाई अत्यन्त सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।