जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार ०७:४५

आज ३ बजे एमाले संसदीय दलको बैठक, दलको नेता चयन गर्ने तयारी


काठमाडौं, चैत १८ । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।

बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको बुझिएकाे छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको रणनीतिक तयारीका सन्दर्भमा बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । सोही बैठकले विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको थियो ।

आज बस्ने संसदीय दलको बैठकले पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे थप रणनीति तय गर्ने, संसद्भित्रको भूमिकाबारे छलफल गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताइएकाे छ ।