काठमाडौं, चैत १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि चिकित्सकको निगरानीमा राखिएको छ। उहाँ हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहनुभएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको हो। उहाँको पित्तथैलीमा पत्थरी देखिएको छ भने पिसाबमा सङ्क्रमणसमेत पुष्टि भएको जनाइएको छ। यससँगै चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन्।
यसअघि जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयनका क्रममा भन्दै गत शनिबार प्रहरीले अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो। पक्राउपश्चात स्वास्थ्य परीक्षणका लागि उहाँलाई शिक्षण अस्पताल लगिएको थियो र त्यसपछि उपचारका लागि भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको छ। पछिल्लो अवस्थाबारे थप विवरण अस्पतालले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्