जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार २०:२४

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनद्वारा खारेज


काठमाडौं, चैत १८। एमाले सचिव महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै शोभा पाठकले दायर गर्नुभएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै खारेज गर्ने निर्णय सुनाएको हो।

पाठकले दुई वर्षअघि बस्नेतविरुद्ध बलात्कारको जाहेरी दिनुभएको थियो। तर, पर्याप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उहाँले यसअघि दायर गर्नुभएको रिट पनि अदालतबाट खारेज भएको थियो।

पछि उहाँले पूरक जाहेरी दर्ता गर्दै पुनः अनुसन्धान र कारबाहीको माग गर्नुभएको थियो। तर, सरकारी वकिल कार्यालयले फेरि पनि मुद्दा नचलाउने निर्णय गरेपछि त्यसविरुद्ध पुनः दायर गरिएको रिटलाई पनि अदालतले खारेज गरेको हो।

अदालतले काठमाडौं जिल्ला अदालतबाट समेत कारबाही प्रक्रिया अघि बढिरहेको देखिएकाले यस विषयमा परमादेश जारी गर्न आवश्यक नदेखिएको ठहर गरेको जनाएको छ। यसअघि पनि समान प्रकृतिको मुद्दामा जिल्ला अदालतबाट बस्नेतले सफाइ पाइसक्नुभएको विवरण सार्वजनिक भएको छ।