जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार २०:४२

एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखियो, शल्यक्रियाबारे भाेलि चिकित्सकले निर्णय लिने 


काठमाडौं, चैत १८ । केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरी देखिएको छ । उहाँको शल्यक्रियाबारे भोलि बिहीबार चिकित्सकहरूले निर्णय गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना रहनुभएका अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया गर्ने वा नगर्ने विषयमा चिकित्सकहरूबीच छलफल जारी रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको प्रारम्भिक परीक्षणमा उहाँको पित्तथैलीमा पत्थरी देखिएको पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार अध्यक्ष ओलीको पिसाबमा संक्रमण देखिएको आशंकामा कल्चर रिपोर्टका लागि नमूना संकलन गरिएको छ । उक्त रिपोर्ट बिहीबार मात्रै आउने जनाइएको छ । सोही रिपोर्ट प्राप्त भएपछि शल्यक्रिया आवश्यक हुने वा नहुनेबारे चिकित्सक टोलीले अन्तिम निर्णय लिनेछ ।

यसअघि दुई पटकसम्म मिर्गौलाको शल्यक्रिया गराइसक्नुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेकाले चिकित्सकहरू तत्काल निर्णयमा पुग्न सकेका छैनन् । उहाँ मिर्गौला प्रत्यारोपण गराइसक्नुभएका बिरामी भएकाले उपचार प्रक्रियामा विशेष सावधानी अपनाइएको अस्पतालले जनाएको छ ।

हाल उहाँ शिक्षण अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचाररत रहनुभएको छ ।