रामेछाप, चैत १८ । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा उल्लेखनीय सहभागिता रहेको छ ।
वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा करिब २ सय जनाले स्वास्थ्य सेवा लिनुभएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

उहाँले शिविरमा आयुर्वेद चिकित्सालयको स्वास्थ्य टोलीसँगै स्वास्थ्य चौकी फुलासीका स्वास्थ्यकर्मीहरूले समेत सेवा प्रवाह गर्नुभएको जानकारी दिनुभयो ।
चिकित्सालयका डाक्टर उत्तम गैरेका अनुसार शिविरमा हाडजोर्नी दुखाइ, बाथ, सुगर, प्रेसर, ग्यास्ट्रिक, महिलाजन्य समस्या, पुरानो खोकी तथा नसासम्बन्धी रोगलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीहरू उपचारका लागि आउनुभएको थियो ।

यसैबिच, सोही स्थानमा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा परीक्षण शिविर पनि सम्पन्न भएको छ । उक्त शिविरमा १ सय ८४ जनाले आँखा परीक्षण गराउनुभएको जनाइएको छ ।

आँखा शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा चस्मा बिक्रीका साथै मोतियाबिन्दुको शल्यक्रिया आवश्यक भएका बिरामीहरूको छनोट समेत गरिएको थियो ।

वडाध्यक्ष नवराज थापा मगरले स्थानीयले गाउँमै सहज रूपमा स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्