रामेछाप, चैत १९। रामेछापको उमाकुण्ड गाउँपालिकाका सबै वडालाई “पूर्ण खोप सुनिश्चितता” घोषणा गर्दै आधिकारिक प्रमाणपत्र वितरण गरिएको छ। गाउँपालिकाभित्रका १ नं. देखि ७ नं. वडासम्मलाई बुधवार एकैसाथ पूर्णखोप सुनिश्चितता वडा घोषणा तथा प्रमाणीकरण गरिएको हो।
गाउँपालिकाले २०८२ चैत १२ गतेसम्म सबै वडालाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार जन्मेदेखि १५ महिनासम्मका १५५ जना बालबालिकाले नियमित रूपमा लगाउनुपर्ने सबै खोप प्राप्त गरेका छन्।
यस्तै, १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि सबै वडालाई बुधवार पूर्णखोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि पूर्णखोप सुनिश्चितताको दिगोपना कायम राख्ने प्रतिबद्धता समेत जनाएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले संविधानले नागरिकको मौलिक हकका रूपमा स्वास्थ्य सेवाको व्यवस्था गरेको उल्लेख गर्दै त्यसअनुसार गुणस्तरीय सेवा प्रवाह गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइन्। पूर्णखोप सुनिश्चितता घोषणा गाउँपालिकाको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। उनले अबको दिनमा पनि पूर्णखोप सुनिश्चितताको दिगोपना कायम राख्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन्।













प्रतिक्रिया दिनुहोस्