जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १२:०६

तरकारीमा आत्मनिर्भर बनाउन स्याङ्जामा थालियो यस्तो अभियान


स्याङ्जा, मंसिर २६ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताउनुभयो ।

‘नगरभित्र २९३ टोल विकास संस्था छन् । प्रत्येक टोलमा एक/एक वटा नर्सरी स्थापना गर्दै जानेछौं,’ प्रवक्ता अधिकारीले भन्नुभयो, ‘नर्सरी स्थापना गर्नका लागि आवश्यक तालीम दिएका छौं । बीउबिजन किन्न र नर्सरी व्यवस्थापनका लागि प्रत्येक टोललाई खर्च पनि दिन्छौँ ।’ टोल-टोलमा स्थापना गरिएका नर्सरीबाट प्रत्येक घरलाई निःशुल्क १०/१० वटा विभिन्न प्रजातिका बिरुवा/बेर्ना उपलब्ध गराउनुपर्ने प्रवक्ता अधिकारीले बताउनुभयो ।

‘एउटा घरलाई निःशुल्क १० वटा बिरुवा उपलब्ध गराउने र त्योभन्दा बढी आवश्यक परेमा कृषक आफैले नर्सरीबाट मूल्य तिरेर लैजानुपर्ने व्यवस्था मिलाएका छौं, यसले गर्दा प्रत्येक घर यस अभियानमा सहभागी हुने र घरमै कुनै न कुनै तरकारी बाली लगाउन थाल्ने भएकाले ताजा तथा अग्र्यानिक तरकारी उत्पादन भई तरकारीमा आत्मनिर्भर बनाउन सकिने छ,’ अधिकारीले भन्नुभयो ।

‘आफ्नो काम आफ्नै रोजगार–कृषि पर्यटन निर्माण हाम्रो आधार’ भन्ने नाराका ‘एकघर एक करेसाबारी’ अभियानमा नगरपालिकाका टोलवासीको सक्रिय सहभागिता रहेको कृषि कार्यक्रमका सल्लाहकार खेमनारायण चापागाईले बताउनुभयो । ‘प्रत्येक टोल–टोलमा मौसमी तथा बेमौसमी तरकारीको बेर्ना उत्पादन हुन्छन, टोलमा रहेका प्रत्येक घरले निश्चितमात्रामा बेर्ना निःशुल्क पाउँछन् र अन्य आवश्यक परेमा किन्नुपर्ने हुन्छ,’ चापागाँईले भन्नुभयो ।

बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला नगरवासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास मात्रै गर्न सके पनि यो अभियान प्रभावकारी हुने दाबी कृषि सल्लाहकार चापागाईको छ । व्यावसायिकरुपमा तरकारीखेती गर्नै नसके पनि थोरै परिश्रमले आफ्नो घर परिवारलाई आवश्यक पर्ने तरकारी घरकै करेसाबारीमा उत्पादन गर्न सकेको खण्डमा आर्थिक बचत तथा ताजा र प्राङ्गारिक तरकारी खानाले स्वास्थ्यमा समेत फाइदा पुग्ने पुतलीबजार नगरपालिकाले जनाएको छ । रासस