जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार १५:५३

 संघीय लोकतन्त्र सबै नेपालीको ऐतिहासिक जित हो : वर्षमान पुन


काठमाडौं, चैत १९ । प्रतिनिधि सभा सदस्य तथा नेकपाका नेता वर्षमान पुनले संघीय लोकतन्त्रलाई सबै नेपालीको ऐतिहासिक जितको रूपमा व्याख्या गर्दै वर्तमान संसद जनताको संघर्षको उपलब्धि भएको बताउनुभएको छ।

आजबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपाली जनताले लामो राजनीतिक संघर्ष, आन्दोलन र बलिदानमार्फत प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था कुनै एक दलको मात्र नभई सम्पूर्ण नेपालीको साझा विजय भएको स्पष्ट पार्नुभयो । ‘हामी नेपालीले जितेका छौँ,’ उहाँले दृढ स्वरमा भन्नुभयो, ‘संघीय लोकतन्त्र सबै नेपालीको जित हो, यही कारण आज हामीले यस्तो रंगीन, समावेशी र प्रतिनिधिमूलक संसद पाएका छौँ।’

उहाँले वर्तमान संसदलाई देशको विविधता, समावेशिता र लोकतान्त्रिक चेतनाको प्रतिविम्बका रूपमा चित्रण गर्दै यसलाई जनआन्दोलनको उपलब्धि बताउनुभयो। नेता पुनले तथाकथित पुराना भनिएका राजनीतिक दलहरूमाथि विचार र व्यवहारका आधारमा प्रश्न उठिरहेको स्वीकार गर्नुभयो। जनताले दलहरूको कार्यशैली, प्रतिबद्धता र परिणामबारे प्रश्न गर्नु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ थियो।

तर, पुराना दलहरूले देशका लागि केही पनि नगरेको भन्ने भाष्यलाई उहाँले अस्वीकार गर्नुभयो। अनेकौँ राजनीतिक संक्रमण, द्वन्द्व र चुनौतीका बीच पनि मुलुकलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन ती दलहरूको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

‘हामीमाथि प्रश्न उठेका छन्, त्यो स्वाभाविक हो,’ उहाँले भन्नुभयो, ‘तर हामीले केही पनि गरेका छैनौँ भन्ने निष्कर्ष गलत हुन्छ।’

उहाँले संघीय लोकतन्त्रको संस्थागत सुदृढीकरण, जनअपेक्षाअनुसार सेवा प्रवाह र सुशासन स्थापना अहिलेको मुख्य चुनौती भएको उल्लेख गर्दै संसदले त्यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने धारणा राख्नुभयो।