काठमाडौं, चैत १९ । प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू परम्परागत अर्थमा राजनीतिज्ञ नभई समाजसेवीको भूमिकाबाट संसदमा आएको बताउँदै आफ्नो भूमिका पक्ष–प्रतिपक्षभन्दा माथि उठेर निष्पक्ष रहने घोषणा गर्नुभएको छ।
आज प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उहाँले आफूलाई फरक प्रकृतिको व्यक्ति भएको उल्लेख गर्नुभयो। ‘म अचम्मको मान्छे छु, म फरक छु,’ उहाँले भन्नुभयो, ‘म यो ठाउँमा आउनै नपर्ने मान्छे भएर पनि आएको छु।’
उहाँले आफू राजनीतिक स्वार्थका लागि नभई सामाजिक परिवर्तन र राष्ट्रिय विकासको उद्देश्यले संसदमा आएको स्पष्ट पार्नुभयो। ‘म राजनीति गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ,’ उहाँले भन्नुभयो, ‘म समाजसेवीकै रूपमा रहिरहेको छु र संसदमा मेरो भूमिका पक्ष वा प्रतिपक्ष नभई निष्पक्ष रहनेछ।’
उहाँले विगत चार महिना मन्त्रीका रूपमा रहँदा शिक्षा क्षेत्र सुधारका लागि केही अध्यादेश र नियमावली ल्याउने प्रयास गरेको जानकारी दिनुभयो। तर ती आवश्यक कानुनी तथा नीतिगत सुधारहरू लागू गर्न नसकिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। ‘चार महिना मन्त्री हुँदा शिक्षा क्षेत्र सुधारका लागि केही अध्यादेश र नियमावली ल्याउन चाहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर ती ल्याउन सकिएन।’
महावीर पुनले मुलुकको समग्र विकासका लागि विज्ञान र प्रविधिको भूमिकालाई निर्णायक मान्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नुभयो। विज्ञान र प्रविधिको विकासबिना कुनै पनि देशले समृद्धि हासिल गर्न नसक्ने उहाँको भनाइ थियो।
उहाँले यसका लागि छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालय गठन गर्नुपर्ने प्रस्तावसमेत संसदमा राख्नुभयो। ‘विज्ञान प्रविधिको विकास नगरी कुनै पनि देशको विकास हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसका लागि छुट्टै विज्ञान प्रविधि मन्त्रालय खोलिनुपर्छ। यो कुरा एउटा कानले सुनेर अर्को कानले उडाइयोस् भन्ने होइन।’
शिक्षा क्षेत्रको संरचनात्मक सुधारमा जोड दिँदै उहाँले शिक्षा नियमावलीमा व्यापक संशोधन आवश्यक रहेको बताउनुभयो। यस क्षेत्रमा अत्यधिक राजनीतिकरण भएको उल्लेख गर्दै नीतिगत सुधारमार्फत गुणस्तरीय र व्यवहारिक शिक्षा प्रणाली निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।













प्रतिक्रिया दिनुहोस्