काठमाडौं, चैत २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।
आयोगले स्टिङ अपरेशनमार्फत सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको जनाएको छ। उहाँलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढ क्षेत्रबाट नियन्त्रणमा लिइएको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले नेपाल प्रेसलाई जानकारी दिनुभयो।
सूचना अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरी प्राप्त भएपछि अख्तियारको टोलीले केही समयदेखि निगरानी गर्दै आएको थियो।
सोही क्रममा प्रहरी निरीक्षक अधिकारीलाई ४० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको उहाँले बताउनुभयो।
पक्राउ परेका निरीक्षक अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्