जनता टाइम्स

२० चैत्र २०८२, शुक्रबार १५:३०

सभामुखमा रास्वपाका डिपी अर्याल निर्विरोध


काठमाडौं, चैत २० । प्रतिनिधि सभाको सभामुख पदमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्बिरोध हुनुभएको छ ।

संसदमा रहेका कुनै पनि दलका सांसदले उम्मेदवारी नदिएपछि अर्याल निर्बिरोध हुनुभएको हो । निर्बिरोध भएका अर्याललाई निर्वाचित भएको घोषणा प्रतिनिधि सभाको आगामी बैठकमा गरिने छ ।

एमाले संसदीय दलले बराललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको सांसद ऐन महरले जानकारी दिनुभएको थियो । एमालेका कार्यबहाक अध्यक्ष समेत रहनुभएका संसदीय दलका नेता रामबहादुर थापा बादलले बराललाई सभामुखको उम्मेदवारी दिन निर्देशन दिनुभएको थियो ।

तर एमालेका पूर्वउपाध्यक्ष समेत रहनुभएका सांसद बरालले सर्मनाक हार हुने निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेर मनोनयन नगरेपछि अर्याल निर्बिरोध हुनुभएको हो।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

यस्तो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्दैछ ।