काठमाडौं, चैत २० । श्रम संस्कृति पार्टीले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुक मार्फत ती घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गर्नुभएको हो।
अध्यक्ष राईले जेन्जी आन्दोलनलाई भड्काएर बालबालिकाको दुरुपयोग गरिएको, शान्तिपूर्ण परिवेशलाई हिंसात्मक अवस्थातर्फ धकेलिएको तथा भदौ २३ गते भएको रक्तपातपूर्ण घटनाको परिस्थिति सिर्जना गर्नेहरूमाथि कडा कारबाही हुनुपर्ने बताउनुभएको छ।
उहाँले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा परिणत गर्ने जोसुकै व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभएको छ। साथै, भदौ २४ गते सरकारी संरचनाहरूमा आगजनी तथा तोडफोडजस्ता जघन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई समेत छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ। ‘जेन्जी आन्दोलनलाई भड्काएर बालबालिकाको दुरुपयोग गर्ने, शान्तिपूर्ण परिवेशलाई हिंसामा बदल्ने र २३ गतेको रक्तपातपूर्ण घटनाको परिस्थिति सिर्जना गर्नेहरूमाथि कडा कारबाही हुनुपर्छ,’ अध्यक्ष राईले भन्नुभएको छ, ‘२४ गते सरकारी संरचनाहरू जलाउने जस्तो जघन्य कृत्य गर्नेहरूलाई समेत छानबिनको दायरामा ल्याउन तत्काल एक उच्चस्तरीय न्यायिक समिति गठन गरियोस् भन्ने हाम्रो माग छ।’
श्रम संस्कृति पार्टीले घटनाको निष्पक्ष छानबिनमार्फत दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीले शान्ति, सुव्यवस्था र नागरिक सुरक्षालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।














प्रतिक्रिया दिनुहोस्