जनता टाइम्स

२० चैत्र २०८२, शुक्रबार १७:४८

हिरासतबाट केपी ओलीको सन्देश : एमाले कार्यकर्ता यतिबेला विरोधीको मसाल बन्नुहुन्न


काठमाडौं, चैत २० । प्रहरी हिरासतमा रही स्वास्थ्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध रहन आग्रह गर्नुभएको छ।

पार्टी केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनलले जनताटाइम्स डटकमसँग कुरा गर्दै अध्यक्ष ओलीले हिरासतबाट विशेष सन्देश पठाउनुभएको जानकारी दिनुभएको हो। उहाँका अनुसार पार्टीभित्र आपसमा विभाजित भई विरोधीको ‘मसाल’ बन्न नहुने सन्देश अध्यक्ष ओलीले दिनुभएको छ।

शाहीका अनुसार अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य धेरै दिन लुक्न नसक्ने बताउनुभएको छ। उहाँले ती घटनाको वास्तविकता चाँडै सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभएको छ। ‘ भदाै २३ र २४ गतेका घटनाको सत्यतथ्य सधैँका लागि कहाँ लुक्ला र ? यो छिट्टै बाहिर आउँछ,’ अध्यक्ष ओलीको सन्देश उद्धृत गर्दै शाहीले बताउनुभयो।

अध्यक्ष ओलीले एमालेमाथि अहिले मात्र प्रहार नभएको, विगतदेखि नै विभिन्न रूपमा आक्रमण र घेराबन्दी हुँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले जनताको नाममा केही प्रायोजित व्यक्तिहरूले भावनाको व्यापार गरेर पार्टीलाई कमजोर पार्ने प्रयास गरेको बताउनुभएकाे छ ।

उहाँले पार्टी पङ्क्तिलाई सत्य र प्रतिबद्धताबाट विचलित नहुन आग्रह गर्दै सङ्घर्षको बाटो निरन्तर अघि बढाउन निर्देशन दिनुभएको छ। ‘समय सधैँ एकनासको हुँदैन, हामीले हाम्रो प्रतिबद्धता, सत्यसँग नलड्नु र असत्यसँग नझुक्नु भन्ने मूल मान्यताबाट लड्खडाउनु हुन्न,’ सन्देशमा उल्लेख छ।

अध्यक्ष ओलीले राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्ने अभियानमा विभिन्न षड्यन्त्रहरू हुँदै आएको दाबी गर्दै अहिलेको अवस्था अस्थायी घेराबन्दीको चरम रूप भएको बताउनुभएको छ।

पार्टी कार्यकर्तालाई लक्षित गर्दै उहाँले यतिबेला विरोधीको प्रभावमा नपरी अझ एकताबद्ध भएर यथार्थ उजागर गर्न लाग्नुपर्ने सन्देश दिनुभएको छ। ‘कार्यकर्ता पङ्क्तिले यतिबेला विरोधीको मसाल बन्नुहुन्न, अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ,’ सन्देशमा भनिएको छ।